विराटनगर । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट शुक्रबार नवजात शिशु (बालिका) हराएकी थिइन् ।
काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले आफ्नो शिशु चोरी भएको भन्दै मौखिक सूचना दिएकी थिइन् ।
अस्पतालमा शिशु बोकेर बसेकी श्रेष्ठसँग ती महिलाले बोक्न भन्दै शिशु मागेकी थिइन् । तर, उनी एकाएक शिशु लिएर फरार भएको भन्दै श्रेष्ठ प्रहरीसमक्ष पुगेपछि प्रहरीले खोजी कार्य थालेको थियो ।
शुक्रबार मध्याह्न १२ बजे ती महिला शिशु लिएर अस्पतालबाट फरार भएकी थिइन् ।
बच्चा खोज्दा नभेटिएपछि दिउँसो १ बजेतिर खबर भएपछि प्रहरी खोजीकार्यमा जुटेको थियो ।
करिब ११ घण्टा खोजबिनमा जुटेको प्रहरी अन्ततः सफल बनेको छ । बच्चा चोर्ने ती महिलालाई शनिबार मध्यराती प्रहरीले नियन्त्रणमा लिएको हो ।
शिशु लिएर फरार भएकी महिला दैलेखको नौमुले गाउँपालिका-१ घर भई काठमाडौंको काँडाघारी बस्ने मनकुमारी सिंह रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीसँगै प्रहरीले उनका श्रीमान् २८ वर्षीय नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारीस्थित डेराबाटै नियन्त्रणमा लिएको हो ।
शुक्रबार प्रसूति अस्पताल प्रवेश गरी शिशु लिएर फरार भएकी सिंहलाई प्रहरीले मध्यराति १२ बजेतिर काठमाडौंको काँडाघारीबाट नियन्त्रणमा लिएको हो ।
त्यहाँबाट शिशुलाई पनि उद्धार गरिएको प्रहरीले जनाएको छ । शिशुलाई अभिभावको जिम्मा लगाइएको र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार थालिएको प्रहरीले जनाएको छ ।
शिशु चोर्ने महिलाले प्रहरीसँगको प्रारम्भिक बयानमा विवाह गरेको लामो समयसम्म पनि आफ्नो बच्चा नभएपछि बच्चा चोरी गरेको बताएकी छन् ।
अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार बच्चा नभएपछि आफूले डाक्टरलाई देखाउँदा डाक्टरले सन्तान नहुन सक्छ भनेपछि शिशु चोरेर आफ्नो बनाउने योजना बनाएको सिंहले बताएकी छन् ।
सोही अनुसार अस्पताल छिरेको र त्यहाँ एक महिलाको शिशु एकछिन बोक्छु भनी लिएर आएको उनले प्रहरीसमक्ष बयान दिएकी छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार यो विषयमा थप अनुसन्धान भइरहेको छ ।
यस्तो छ पक्राउ परेकी मनकुमारीको बयान
पटकपटक मेरो बच्चा खेर गयो । हालै मात्र पनि मेरो बच्चा खेर गएको छ । त्यही कारण ब्लिडिङ भइरहेको छ । मेरो श्रीमान् नेपाली सेनामा हुनुहुन्छ । उहाँ पोष्टिङ दोलखामा हो । कहिलेकाँही बिदामा मात्र आउनुहुन्छ ।
धेरै प्रयास गर्दा पनि बच्चा नबसेपछि श्रीमान् पनि निराश हुनुहुन्छ । म पनि मानसिक रूपमा विछिप्त भइसकें । पछिल्लोपटक बच्चा खेर गएको विषयमा मैले उहाँलाई भनेको छैन । अत्याधिक ब्लिडिङ भएपछि म उपचारका लागि प्रसूति गृह गएकी थिएँ ।
केही दिनदेखि कसैको बच्चा पाए पनि लैजान हुन्थ्यो भन्ने मनमा कुरा खेलिरहेको थियो । अस्पतालमा आमाले छाडेका बच्चाहरू पाइन्छ रे भन्ने सुनेकी थिएँ । कसैको बच्चा लिएर भाग्न पाए पनि हुन्थ्यो भन्ने सोच पनि आउँथ्यो बेलाबेलामा । म अस्पतालको बाहिर उभिएको थिएँ । एक जना बहिनीले मेरो बच्चा केहीबेर समाइदिनुस् न भन्नुभयो ।
उहाँको हातमा फोहोर थियो । उहाँ फोहोर फाल्न भनेर डस्बिन भएतिर गएपछि म बच्चा लिएर बाहिर निस्किएँ । ट्याक्सी चढेर सीधै काँडाघारी डेरामा आएँ ।
श्रीमानलाई पनि फोन गरेर बच्चा जन्मिएको जानकारी दिएँ । उहाँ खुसी हुनुभयो । काठमाडौं आउँछु भन्नुभएको थियो । राति नै पक्राउ परेँ । अहिले मलाई गल्ती गरिएछ भन्ने महसुस भएको छ ।