विराटनगर । नेपाल आयल निगमले फेरि एकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।
निगम सञ्चालक समितिको बिहीबारको बैठकले गए राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर रु दुई रुपियाँ वृद्धि भएको छ ।हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।
निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः रु १६९.५०, १७१ र १७२ तथा डिजेल-मटिटेल क्रमशः १५७.५०, १५९ र १६० तोकेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु १.८३ र डिजेलमा रु १.५६ बढेर आएको निगमले जनाएको छ ।