अन्जु शर्मा, रातोपुल
वाक् ! वाक् !! गर्दै चमेली वाथरुमतिर छिरी ।
जेठी – ‘यो वेश्याले कस्को भूँडी बोकेर आई ? वाक् र ब्याक्क पो गर्छे त !’
नरे जेठो – खुसी हुँदै,’हो र ? राम्रो भएछ, घरमा सन्तान हुने भयो ।’
जेठी- ‘तिमीबाट सन्तान हुँदैनन्, भनेर डाक्टरले पहिले नै भनिसकेका छन् । यदि तिमीबाट हुने हो भने मेरा पनि त हुन्थे ।’
जेठीले बिहे गरेको १२ वर्षपछि आफ्नै भदैनीलाई सौताको रूपमा ल्याउँदा नरे जेठोले जेठीलाई सम्झाउदै भनेको थियो, ‘कान्छी ल्यायो भनेर नरिसा जेठी, यो तेरो जीवनभरको सेवक हुन्छे।’
जेठी रिसाएर रनक्क भई ।
नरे जेठोले सम्झायो, ‘जेठी हल्ला नगर् । चमेलीलाई दोष होइन, पुरस्कार दिन पर्छ । हामीलाई निःसन्तानको मुख हेर्दा अपवित्र होइन्छ, अपुत्राको धन प्यारो हुन्छ । भनेर आफन्त ,गाउँ ,समाज सबैले हैरान बनाएका थिए। जे जसरी भए पनि सन्तानको सुख दिने भइ चमेलीले । आखिर कसकोसँग के फरक पर्यो र ? उसको बाउ म नै हुन्छु ।’
नरे जेठो बाथरुमतिर हेर्दै मुसुक्क मुस्कुरायो ।