विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सभाले सेयर धनीलाई वितरण गर्ने बोनस सेयरको प्रस्ताव पारित गरेको छ ।
आइतबार संस्थाको पाँचौं साधारणसभाले १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
आर्थिक वर्ष २०७९–०८० को वितरण योग्य मुनाफाबाट लघुवित्तले १४ प्रतिशत बोनस सेयर पारित गरेको बोनस सेयर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ ।
जीवन विकासको चुक्ता पूजी एक अर्ब १८ करोड २० लाख ३४ हजार २ सय रुपैयाँको १४ प्रतिशत अर्थात १६ करोड ५४ लाख ८४ लाख सात सय बराबरको बोनस सेयर वितरण गर्नेछ ।
बोनस सेयर प्रयोजनका लागि ८७ लाख १० हजार ४९८ रुपैयाँ नगद लाभांश दिने छ । बोनस वितरण पछि संस्थाको चुक्ता पूँजी एक अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ पुगेको छ ।
साधारणसभाले अन्य लघुवित्त संस्थासँगको मर्जर र प्राप्तिका लागि आवश्यक कार्य गर्नका लागि सञ्चालन समितिलाई अधिकार दिने निर्णय पनि गरेको छ ।
आइतबार लघुवित्तको साधारणसभा उद्घाटन गर्दै सांसद योगेन्द्र मण्डलले लघुवित्तलाई बचाउनुपर्ने अवस्था आएको बताएका छन् । पछिल्लो समयमा लघुवित्तविरुद्ध विभिन्न अभियान चलिरहेको बताउँदै उनले यस्तो समयमा सदस्य केन्द्रीत सेवा प्रदान गरेर लघुवित्तलाई जोगाउनु पर्ने बताए ।
गरिबी न्यूनिकरणका लागि गाउँ तहमा पुगेको लघुवित्तले नागरिकको आर्थिक र सामाजिक हैसियत उकास्नका लागि महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले पछिल्लो समय गलत हल्ला फैलिएको बताए ।
गलत हल्लाले देशभरका लघुवित्तहरू प्रभावित भएको उनको भनाई छ । जीवन विकासको संस्थापकसमेत रहेका मण्डलले भने, ‘अहिले लघुवित्तले त्यस्ता भ्रम चिर्नका लागि समुदायसँग निरन्तर जोडिने कार्यक्रमहरू गर्नुपर्छ ।’