कस्तो रह्यो कोसी प्रदेशसभाको एक वर्ष ?

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २६ पुस, २०८०
४ महिनाअघि

विराटनगर । कोसी प्रदेश सरकारको दोस्रो कार्यकालका लागि गठित प्रदेशसभाले पहिलो एक वर्ष पूरा गरेको छ ।

गत वर्षको पुस १७ गते प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो ।

त्यसयता पाँचवटा सरकार गठन र दुईपटक सभामुख निर्वाचन गरेको कोशी प्रदेशसभाले आठवटा कानुन निर्माण गरेको छ ।

कोशी प्रदेश सामयिक राजस्वसम्बन्धी विधेयक, प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, केही प्रदेश ऐनलाई संशोधन गर्न जारी भएको विधेयक, प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक यसबीच पारित भएको छ ।

यस्तै, प्रदेश निजामती ऐनलाई संशोधन गर्न बनेको विधेयक, अर्थ विधेयक, विनियोजन विधेयक र स्थानीय सेवा गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाबाट पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यस अवधिमा प्रदेशसभाबाट संसदीय समितिहरू गठन भए पनि तिनले अझै नेतृत्व पाएका छैनन् ।

प्रदेशसभाको यो कार्यावधिलाई कसैले सकारात्मक ठानेका छन् भने कतिपयले जनभावनाअनुरूप काम गर्न नसकेको आरोप लगाएका छन् ।

कोशी प्रदेश सरकारको दोस्रो कार्यकालको पछिल्लो एक वर्षमा चारवटा प्रदेशसभा अधिवेशन सम्पन्न भयो, जसमा प्रदेशसभाको जम्मा ४६ वटा बैठक बस्यो ।

तर, ती बैठकमा प्रदेशसभाको अधिकांश समय सत्ता समीकरण र भागबन्डा मिलानतर्फ मात्रै केन्द्रित देखियो ।

सत्ता र शक्तिका लागि भएका अंकगणितको खेलका कारण प्रदेशसभाको नियमित कामकाजसमेत प्रभावित बन्न पुग्यो ।

त्तकालीन सभामुख बाबुराम गौतमले आफ्नो पदबाट राजीनामा दिनुपर्ने अवस्था पनि यसै अवधिमा सिर्जना भयो ।

दलहरूले यसलाई गठबन्धनको असफलताका रूपमा औंल्याएका छन् । प्रदेश सरकारले त्यसलाई स्वीकार गर्नुपर्ने पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की बताउँछन् ।

नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका नेता कार्कीले पाँच पटक मुख्यमन्त्री परिवर्तनको अभ्यास भए पनि विधि र प्रक्रियामा सहभागी भइरहेको जिकिर गर्दै एक वर्षको कार्यकाल सफल भएको दाबी गरे ।

उनी भन्छन्, ‘गत वर्षको पुस २८ गते पनि हामीले सभामुख चयन गरेका थियौं । तर, राजनीतिक दबाबमा उहाँले राजीनामा दिनुभयो, उहाँलाई हामीले जोगाउन सकेनौं । यसलाई गठबन्धनले असफलताका रूपमा स्वीकार गर्नुपर्छ ।’

‘आम रूपमा एक वर्षमा प्रदेशसभा सफल छ । प्रदेशसभाले संघीय संसद्भन्दा बढी काम गरेको छ,’ उनले थपे, ‘यो अवधिमा पाँचवटा कानुन बनाउनु सफलता हो ।’

गत साउन १६ गौतमले राजीनामा दिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सघाएयता कोशीमा सभामुख पद रिक्त थियो ।

गत वर्षको पुस २८ गते निर्विरोध निर्वाचित सभामुख गौतमले राजीनामा दिँदै आर्थिक मामिला तथा योजना मन्त्रालय रोजेका थिए ।

त्यसपछि सुरु भएको सभामुखको खेलका कारण प्रदेशसभा झनै प्रभावित बन्न पुग्यो ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई विश्वासको मत लिन नदिन भदौ ४ गते उप–सभामुख अचानक बिरामीसमेत परिन् ।

थापालाई विश्वास मतको पक्षमा बहुमत जुटाउन नदिन प्रदेशसभा बैठक छलेर उपसभामुख काठमाडौं लागिन् ।

माओवादी सांसद एवम् अध्यक्ष मण्डलकी सदस्यसमेत रहेकी गीता तिम्सिनाले एक मिनेट १० सकेण्डसम्म सभामुखको भूमिका निर्वाह गरेपछि प्रदेशसभाको यो कार्यकाल झनै रोचन बन्न पुग्यो ।

उपसभामुख दनुवारको अनुपस्थितिमा सभा सञ्चालनको जिम्मा पाएका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीले अर्को सदस्यलाई सभामुखको कुर्सीमा बस्न लगाएर मुख्यमन्त्रीलाई विश्वासको मत दिएको गैर–संवैधानिक एवम् अनौंठो अभ्यास पनि यसै अवधिमा भयो ।

करिब ६ महिनासम्म सभामुखविहीन अवस्थामा रहेको कोशी प्रदेशसभाको पछिल्लो एक वर्षे कार्यकाल संविधानको धारा १६८ वरिवरि नै घुमिरह्यो ।

धारा १६८ को १ देखि ५ सम्मका सबै उपधाराहरू यो अवधिमा प्रयोग भए ।

परिणामस्वरूप कोशी प्रदेश सरकारको नेतृत्व पनि पाँच पटकसम्म परिवर्तन भयो ।

यो अवधिमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दुई–दुई पटक कोशी प्रदेशको मुख्यमन्त्री हुने अवसर पाए ।

आफ्नै दलसँग विद्रोह गरेर विश्वासको मत जुटाएपछि कांग्रेसका केदार कार्की हाल प्रदेशको सरकारको पाँचौं मुख्यमन्त्री छन् ।

प्रदेशसभाको यो कार्यकालले प्रदेशको नामकरण पनि टुंगो लगायो ।

तर, नामकरणको विषयमा पहिचान पक्षधरको माग सम्बोधन भएन । जसकारण प्रदेशमा सुरु भएको पहिचान पक्षधरको आन्दोलनको प्रत्यक्ष प्रभाव प्रदेशसभा र त्यहाँ प्रतिनिधित्व गरिरहेका दलहरूले झेल्नुप¥यो ।

सांसदहरूमाथि आफ्नै निर्वाचन क्षेत्रमा आक्रमणसम्मको घटना प्रदेशसभाको यस अवधिमा भयो ।

नामको विषयलाई लिएर पहिचान पक्षधर अहिले पनि आन्दोलित छन् ।

प्रदेशसभाको यो कार्यकाल सुखद् र सम्झनलायक नरहेको जिकिर गर्दै नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राई प्रदेश नामकरणको विषय पुर्नविचार गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् ।

‘जनचाहना बुझेर यो नामकरणका विषयमा फेरि परीक्षण गर्न जरुरी छ,’ पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले भने, ‘जनतासँग राजनीतिक पार्टीले लड्नु हुँदैन । पहिचानवादीहरू गणतन्त्र र संघीय व्यवस्थाप्रति प्रतिबद्ध छन् । उनीहरूका कुरा सरकारले सुनिदिनुपर्छ ।’

कांग्रेस संसदीय दलका नेता थापाले सभामुख चयन गर्दा दलहरू एकताबद्ध भएको बताउँदै अब कोशी प्रदेश सरकारलाई अगाडि बढ्न सहज भएको उल्लेख गरे ।

‘केही समयअगाडि कहिले अदालतबाट सरकार विघटन हुने, कहिले बहुमत नपुगेर विघटन हुने अवस्था थियो । अब ती सबै अन्त्य भएको छ । कोशी प्रदेशलाई अब सहज तरिकाले अगाडि बढाउने जिम्मेवारी मुख्यमन्त्री र मन्त्रीहरूको काँधमा छ,’ उनले भने ।

माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले एक वर्ष उत्साहजनक नरहेको भन्दै आगामी दिनमा सरकारले राम्रो काम गरेर देखाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘यो एक वर्ष उत्साहजनक रहेन । राजनीतिक अस्थिरताको प्रभाव कोशी प्रदेशमा धेरै प¥यो । यो विषयलाई बिर्सेर बाँकी चार वर्षलाई राजनीतिक स्थिरतासँगै राम्रो काम गरेर विगतको सिमा कमजोरीलाई बिर्सने वतावरण सिर्जना हुने विश्वास दिलाउन चाहन्छु ।’

राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कोशी प्रदेशको गठनमा देखिएको अंक गणितको कारण एक वर्ष केही गर्न नसकेको बताए ।

उनले भने, ‘कतिपय ठाउँमा हामी सत्ता केन्द्रीत पनि भयौं । अब प्रदेशलाई स्थिरतातिर लैजाने गरी जानुपर्छ । प्रदेशको विकास गर्नुपर्छ ।’

यता, हाल कोशी प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री केदार कार्की प्रदेशसभाको पछिल्लो एक वर्षे कार्यकाल सफल भएको दाबी गर्छन् ।

संघीय संसदको तुलनामा कोशी प्रदेशसभाले बढी काम गरेको उनी बताउँछन् ।

‘सहमति र सहकार्यको सिद्धान्तअनुसार अहिलेको संसद चल्दै छ,’ उनले भने, ‘विशिष्ट परिस्थितिबाट नयाँ सरकार बन्यो । नयाँ सरकारले अत्याधिक बहुमतका साथ विश्वासको मत प्राप्त ग¥यो । जसमा राप्रपाले विपक्षमा मतदान गरेको थियो । बजेट पास गर्ने अवस्थामा आइपुग्दा राप्रपा सहमतिमा आयो, त्यो पाइला सभामुखको निर्वाचनसम्म सँगै छ ।’

प्रकाशित समय: बिहिबार २६ पुस, २०८०, २०:५२:५८

सम्बन्धित खबर

गिरी फाउन्डेसनको शिविरमा नगरप्रमुखसहित एक सय १० जनाले लिए स्वास्थ्य सेवा
शनिवार ५ जेठ, २०८१
कोशीका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
शुक्रबार ४ जेठ, २०८१
कोशीमा मन्त्रीमण्डल विस्तार, मन्त्रालय छिनोफानो लाग्यो
शुक्रबार ४ जेठ, २०८१
लागुऔषध ओसारपसारविरुद्ध प्रहरी बन्यो आक्रामक : गोली प्रहार गरी दुई जना पक्राउ
शुक्रबार ४ जेठ, २०८१
विश्वकप : नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने
शुक्रबार ४ जेठ, २०८१
रोनाल्डो र मेस्सीपछि धेरै अन्तर्राष्ट्रिय गोल गरेका सुनीलले लिए सन्न्यास
शुक्रबार ४ जेठ, २०८१
कानेपोखरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना, एक जना घाइते
शुक्रबार ४ जेठ, २०८१
इसिडी शिक्षा सुधारको माग गर्दै विराटनगर महानगरअगाडि धर्ना
शुक्रबार ४ जेठ, २०८१
कोशी प्रदेशसभा : कानुन निर्माणमा कमजोर, विषयगत समितिले चाँडै नेतृत्व पाउने
बिहिबार ३ जेठ, २०८१
कोशीको मुख्य न्यायाधिवक्तामा वस्ती नियुक्त गर्न सिफारिस
बिहिबार ३ जेठ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०