विराटनगर । सशस्त्र प्रहरीले स्रोत नखुलेको १६ लाख १० हजार रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका- १५ का ४० वर्षीय लक्ष्मणप्रसाद साह रहेका छन् ।
उनलाई विराटनगर-७ स्थित प्रशासन रोडबाट सीमा सुरक्षा गुल्म रानीबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीले एक हजार दरको आठ सय ८५ थान, ५०० दरको एक सय ६९ थान, १०० दरको नौ सय थान, पचास दरको पाँच थान, २० रुपैयाँ दरको १२ थान र १० रुपैयाँको नोट एक थान बरामद भएको जनाएको छ ।
रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले रकम बरामद गरी साहलाई नियन्त्रणमा लिएको थियो ।
स्रोत नखुलेको रकम लिएर हिँडिरहेको सूचनाका आधारमा सशस्त्रको गस्ती टोलीले उनलाई पछ्याएर नियन्त्रणमा लिएको थियो ।
प्रहरीले साहको साथबाट नगद र को १९ प ४४३४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
प्रहरीले बरामद रकम तथा मोटरसाइकल र साहलाई आवश्यक छानबिन तथा कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।