-ऋषि तिवारी
‘सर नमस्कार ।’
सर एकछिन टक्क अडिएर मेरो मुखमा हेर्न थाल्नु भो । कक्षा एकदेखि दस कक्षासम्मको पाठशाला थियो, हाम्रो ।
पढाउने विषय उहाँको नेपाली । सबै विषयका सबै सरहरू मिहिनेतिला हुनुहुन्थ्यो । आफ्नो विद्यार्थीलाई कहिले गाली गरेको थाहा थिएन ।
गाली गरे पनि शिक्षाको आर्जनको गाली हुन्थ्यो । एकचोटि त कृष्ण सरले बेस्सरी हप्काएका नै थिए मलाई ।
तर, फेरि सम्झाउने गर्नु हुन्थ्यो । सरहरू जहिल्यै चिन्तित बन्नु हुन्थ्यो ।
कसरी विद्यार्थीहरूको शिक्षामा योगदान दिऊँ ?
आज त्यही शिक्षाको ज्योतिको परिणाम हो, विद्यार्थीको भविष्य ।
सरले पनि नमस्कार भनी सम्बोधन गर्नुभएको थियो त्यही बेला, जुनबेला सरलाई मैले नमस्कार गरेको थिएँ ।
अनि गफिन थाल्यौँ, हामी गुरु-चेला ।
मैले नै सोधें-‘सर रिटायर्ड हुनुभयो ?’ उहाँले जवाफ दिनुभएको थियो, ‘बाँकी छ अझै तीन वर्षजति ।’
‘ए’! यति भने मैले ।
फेरि सरले खोतल्न थाल्नुभयो-‘के गर्दैछौ, तिमी ? मैले पढाएको विद्यार्थीहरू कोही इन्जिनियर भए, कोही हेल्थ असिस्टेन्ट, कोही ठुलो बोर्डिङ खोलेर प्रिन्सिपल भए भन्छन् । अँ साँच्चै तिमी के भयौं ?’
सरको प्रश्नले खुसी थिएँ, म । जवाफ पनि यसरी दिएको थिएँ-‘म पनि केही न केही भएँ ! सानोतिनो जागिर खाँदै भए पनि म पनि साहित्यकार भएँ ।’
सरले खुसी ब्यक्त गर्दै भन्नुभएको थियो,’जय होस्, हाम्रा पाठशालाका विद्यार्थीहरू पनि केही न केही भए ।’
विराटनगर-६, ममता-मार्ग ।