कोरियाली भाषा परीक्षामा सामेल हुनेका लागि सोमबारदेखि आवेदन खुला भएको छ ।
रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत सन् २०२२ र २०२३ मा दक्षिण कोरिया रोजगारी गर्न जान चाहनेका लागि यो भाषा परीक्षाको आवेदन खुलाइएको हो ।
वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस शाखाका अनुसार पहिलो दिन सोमबार आठ हजार ३९४ जना आवेदन दिएका छन्, जसमा उत्पादनतर्फ छ हजार ४०८ जना र कृषितर्फ एक हजार ९८६ रहेका छन् ।
यो सङ्ख्या बिहान १० बजेदेखि अपराह्न ५ः१५ सम्मको हो ।
सोमबार बिहान १० बजेदेखि चैत २१ गते अपराह्न ५ बजेसम्म कुनै बेला अनलाइन आवेदन दिन सकिने व्यवस्था छ ।
कृषि तथा पशुपालन र उत्पादन क्षेत्रका लागि छुट्टाछुट्टै परीक्षा हुनेगरी तालिका सार्वजनिक भएको छ ।
कृषि तथा पशुपालन क्षेत्रका लागि आउँदो वैशाख २६ देखि जेठ १३ गतेसम्म पहिलो चरणको र जेठ २४ देखि असार १६ गतेसम्म दोस्रो चरणको भाषा परीक्षा हुनेछ ।
यस्तै उत्पादन क्षेत्रका लागि पहिलो चरणमा असार २० देखि भदौ १० गतेसम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० गतेसम्म भाषा परीक्षा हुने ईपीएस शाखाले जनाएको छ ।
यस्तै सीप परीक्षणका लागि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणमा वैशाख २६ देखि जेठ १३ गतेसम्म र दोस्रो चरणमा जेठ २४ गतेदेखि असार १६ सम्मको समय तोकिएको छ ।
उत्पादन क्षेत्रको सीप परीक्षण पहिलो चरणमा असार २० देखि भदौ १० गतेसम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० गतेसम्म हुनेछ ।