राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले रु. आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) प्रतिकित्ता रु. एक सय अङ्कित मूल्यमा बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले जारी गरेको आह्वानपत्रका अनुसार साधारण शेयरमा कुल निष्काशनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिने र जारी पुँजी (रु. २६ करोड) को
शून्य दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार
कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९५ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आगामी फागुन ४ गतेदेखि आवेदन दिन पाउने जनाएको छ ।
सो निष्काशन हुन लागेको आइपिओ न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि फागुन ८ गतेसम्म आवेदन दिन पाउने र सो अवधिसम्म माग गरिए बमोजिम आवेदन नआए आगामी फागुन १८ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।
एनआईबिएल एस क्यापिटल लिमिटेड यसको बिक्री प्रबन्धकको रुपमा रहेको छ ।
सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण शेयरको बाँडफाँड पश्चात
कम्पनीको चुक्ता पुँजी रु. २६ करोड पुग्नेछ । कम्पनीको पुँजीको संरचनामा अधिकृत पुँजी रु. ५० करोड र हालको जारी पुँजी रु. २६ करोड तथा चुक्तापुँजी रु. १७ करोड ५० लाख छ ।
ईक्रा नेपालले कम्पनीलाई ‘ईक्राएनपी आईआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ जुन रेटिङ अनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।