यो देशमा मैले सत्यलाई खोजेँ, सत्य नै भेटिनँ
सत्यलाई त्यागी असत्य रोजी म अमर हुँदिनँ ।
मानव चोला कतिन्जेल होला नगर पशुको व्यवहार
अधर्मी बनी बाँचेर पनि के लान्छन् मरेर ?
लहै मा लहै मकै खायो ढेँडु र बाँदरले
नेपालमा शान्ति आओस् न प्रभु सबैको प्रेमले ।
घार् घुर्रर मदानी चल्छ दहीको ठेकीमा
संसारभरि अँध्यारो हुन्छ यो मन रुँदामा ।
भोलिको दिन कस्तो न आउला भनेर सोच्दै छु
अँध्यारो हटाइ उज्यालो बन्ने जिन्दगी खोज्दै छु ।
दु:ख र सुख बाँढेर हामी राखाैँला वेदना
देशमा शान्ति ल्याउनको लागि बनाऔँ न योजना ।
कोहीलाई लाखा कोहीलाई पाखा संसारको रीतै हो
झस्क्क झस्की सत्यलाई खोज्छु बेकारको गीतै भो ।
ढक र मक क्या राम्रो फूल वनैमा फुलेको
कविता लेख्न आउने त होइन यो मन भुलाको ।
समयलाई चिनी अगाडि बढ तै हुन्छ महान्
संसारमा व्यवहार कसरी गर्ने आफैँ नै जानन ।
नेपालमै जन्मेँ नेपालमै हुर्केँ नेपालमै मर्ने छु
जनताको सेवा गर्नको लागि अगाडि बढ्ने छु ।
रचयिता:
सङ्गीता खत्री श्रेष्ठ