अहिले विश्वमा तीव्र रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्टको पनि नयाँ सब–भेरियन्ट ४० वटा देशमा देखापरेको छ ।
बीए-२ नाम दिइएको ओमिक्रोनको नयाँ सब-भेरिएन्टकाे सङ्क्रमण आरटी–पीसीआर परीक्षणमा समेत नदेखिने वैज्ञानिकहरूले दाबी गरेका छन् ।
विश्व स्वास्थ सङ्गठन (डब्ल्यूएचओ)का अनुसार ओमिक्रोनका तीनवटा सबभेरिएन्ट– बीए–१, बीए-२ र बीए–३ रहेका छन् ।
जसमध्ये विश्वभरि फैलिरहेको ओमिक्रोनमा मुख्यतया बीए १ रहेको छ भने बीए-२ अहिले तीव्र रुपमा फैलिन सुरु भएको छ ।
नयाँ बीए-२लाई ‘स्टिल्थ ओमिक्रोन’ पनि भनिन्छ ।
यसमा ओमिक्रोन पहिचानका लागि खोजिने जेनेटिक स्रोत हराइरहेको हुनाले बीए-२ भाइरसलाई पिसिआर परीक्षण विधीले समेत ठम्याउन नसक्ने देखिएको छ ।
जेनेटिक सिक्वेन्सिङका माध्यमबाट मात्र पहिचान गर्न सकिने बीए-२ सब-भेरिएन्टको लक्षण भने ओमिक्रोनको जस्तै छ ।