विराटनगरस्थित नोबेल शिक्षण अस्पताल तथा काठमाडाैँस्थित केएमसीका सञ्चालक सुनिल शर्मालाई कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयले काठमाडाैँ प्रशासनलाई निर्देशन दिएको छ ।
शिक्षण शुल्कको नाममा एमबिबीएस अध्ययनरत विद्यार्थीहरूसँग नियमविपरीत अतिरिक्त रकम असुल गरेको आरोपमा विभिन्न विद्यार्थी सङ्गठनहरूको विरोध भइरहेको अवस्थामा मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडाैँलाई यस्तो निर्देशन दिएको हो ।
तोकिएको भन्दा ३५ देखि ४० लाख रुपैयाँसम्म बढी शुल्क लिएपछि आयोगले काठमाडाैँ मेडिकल कलेज, विराटनगरको नोबेल शिक्षण अस्पताल र पोखराको मणिपाल शिक्षण अस्पताललाई ४८ घण्टे स्पष्टीकरण सोधेको थियो तर नोबेलले बढी शुल्क लिन नछोडेपछि विभिन्न निकायमा परेको विद्यार्थीहरूको उजुरीको आधारमा बुधबार गृह मन्त्रालयले सञ्चालक शर्मालाई पक्राउ गरी प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउन निर्देशन दिएकाे हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार घटना सम्बन्धमा विस्तृत अनुसन्धान गरिने बताएका छन् । आन्दोलित विद्यार्थीहरूले बुधबार अस्पताल प्रशासनमा अनिश्चितकालीन तालाबन्दीसमेत गरेका छन् ।