म्यानचेस्टर युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा बन्र्लीमाथि ३–१ को सहज जित निकालेको छ ।
गएराती भएको खेलमा युनाइटेडलाई जिताउन क्रिस्टियानो रोनाल्डो र स्कट एमसिटोमिनेले समान एक–एक गोल गरे । युनाइटेडले एक गोल भने उपहार पाएको थियो ।
एमसिटोमिनेले खेलको आठौं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो गोल २७औं मिनेटमा भएको थियो ।
बन्र्लीका बेन मीले आत्मघाती गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाउन सहयोग गरे । युनाइटेडका जाडोन सान्चोको प्रहारलाई ब्लक गर्ने क्रममा मीले आफ्नै पोस्टमा गोल गरेका थिए ।
युनाइटेडको तेस्रो गोल क्रिस्टियानोको नाममा रह्यो । एमसिटोमिनेको प्रहारलाई बन्र्लीका गोलरक्षक वेन हेनेसीले उत्कृष्ट बचाउ गर्दै बचाउने प्रयास गरे पनि रिबन्डमा आएको बललाई क्रिस्टियानोले खाली पोस्टमा सहज गोल गर्दै टोलीको जित निश्चित गरे ।
बन्र्लीका तर्फबाट एक मात्र गोल खेलको ३८औं मिनेटमा भएको थियो । एरिक बेलीको गल्तीको फाइदा उठाउँदै आरोन लेननले उत्कृष्ट गोल गरेका थिए ।
पहिलो हाफमा चार गोल भएको खेलमा दोस्रो हाफमा कुनै गोल हुन नसकेपछि युनाइटेडले स्पष्ट तीन अङ्क बटुल्न सफल भयो ।
जितसँगै १८ खेलमा ३१ अङ्क जोडेको युनाइटेड तालिकाको छैटौँ स्थानमा छ । यता बन्र्ली भने ११ अङ्कका साथ रेलिगेशन जोनमा झरेको छ । १६ खेल खेलेको बन्र्ली तालिकाको १८औँ स्थानमा छ ।