विराटनगर । गृहमन्त्री सुधन गुरुङले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै स्वास्थ्य सेवा प्रवाह, बिरामीको सुरक्षा तथा अस्पतालको समग्र सुरक्षा व्यवस्थाबारे जानकारी लिएका छन्।
अनुगमनका क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीले सहज र सुरक्षित रूपमा स्वास्थ्य सेवा प्राप्त गर्नुपर्नेमा जोड दिए।
उनले बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा अस्पताल परिसरमा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो व्यक्त गरेका थिए।
उनले बिरामीको हितलाई केन्द्रमा राखेर स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखी काम गर्न प्रतिष्ठानका पदाधिकारी तथा सम्बन्धित निकायलाई निर्देशन दिए।
विशेषगरी बिचौलियाले बिरामीलाई विभिन्न प्रलोभनमा पारी अन्य स्वास्थ्य संस्थामा लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स अस्पताल परिसरमा प्रवेश गराउनेजस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिएका थिए।यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरेका छन्।