पर्साको वीरगञ्जबाट भन्सार छली गरी नेपाल भित्र्याइएका १० लाख रुपैयाँभन्दा बढी मूल्यका औषधि, लत्ताकपडा तथा पशुचौपाया प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–२५ खाल्वाबाट भारतबाट भन्सार छली गरी ल्याइएका २ लाख ३१ हजार ६०४ रुपैयाँ मूल्यका विभिन्न प्रकारका औषधि नियन्त्रणमा लिइएको हो।
त्यसैगरी, वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट भन्सार छली गरी ल्याउँदै गरेको ५ लाख ५९ हजार ८२० रुपैयाँ बराबरका लत्ताकपडा बरामद गरिएको प्रहरीले जनाएको छ।
सोही स्थानबाट २ लाख ५० हजार रुपैयाँ मूल्यको एउटा भैँसी र १० हजार रुपैयाँ पर्ने एउटा खसीसमेत नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता एवं डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरीका अनुसार दुवै घटनाबाट बरामद गरिएका औषधि, लत्ताकपडा तथा पशुचौपायाको कुल मूल्य १० लाख ५१ हजार ४२४ रुपैयाँ रहेको छ।
बरामद गरिएका सबै सामग्री आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।