काठमाडौं । दिग्गज बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गोवास्थित निवासमा बिहीबार बिहान उनलाई गम्भीर कार्डियक अरेस्ट भएको थियो। त्यसपछि अस्पताल पुर्याइए पनि बिहान ५ः२० बजे उनलाई मृत घोषित गरिएको हो।
मणिपाल अस्पतालका चिकित्सकका अनुसार उनलाई बचाउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिइएको थियो। तर उपचार प्रयास सफल हुन सकेन। घटनालाई मेडिको–लिगल केसका रूपमा दर्ता गरिएको र मृत्युको चिकित्सकीय कारण पुष्टि गर्न पोस्टमार्टम गरिने जनाइएको छ।
नाना पाटेकर हिन्दी र मराठी सिनेमाका चर्चित अभिनेतामध्ये एक थिए। उनी अभिनेता मात्र नभई निर्माता, निर्देशक तथा लेखकका रूपमा समेत सक्रिय थिए। आफ्नो फरक अभिनय शैली र प्रभावशाली संवाद प्रस्तुतिका कारण उनले भारतीय सिनेमामा छुट्टै पहिचान बनाएका थिए।
नाना पाटेकरले सन् १९७८ मा ‘गमन’ फिल्मबाट हिन्दी सिनेमामा पाइला राखेका थिए। सुरुवाती चरणमा उनले मराठी र हिन्दी दुवै भाषाका फिल्ममा काम गरे। मिरा नायरको ‘सलाम बम्बे!’ मा उनको अभिनयले प्रशंसा पाएको थियो।
सन् १९८९ मा प्रदर्शनमा आएको ‘परिन्दा’ उनको करियरको महत्वपूर्ण फिल्म बन्यो। फिल्ममा निर्वाह गरेको भूमिकाका लागि उनले राष्ट्रिय फिल्म पुरस्कार र फिल्मफेयर अवार्डसमेत प्राप्त गरेका थिए।
‘क्रान्तिवीर’, ‘प्रहार’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायतका फिल्ममा उनको अभिनय चर्चित छ। भारतीय सिनेमामा उनको योगदानका लागि उनलाई पद्मश्रीबाट समेत सम्मान गरिएको थियो।