विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार राति १२ बजेदेखि दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्को असोज १३ गते बसेको बैठकले संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेका हुन्।
अधिवेशन अन्त्य भएसँगै प्रतिनिधिसभा र राष्ट्रिय सभाका चालु बैठक तथा संसदीय कामकारबाही तत्कालका लागि रोकिएका छन्।