सुनसरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै सुनसरी क्षेत्र नम्बर ४ मा पार्टीको आन्तरिक राजनीतिक गतिविधि तीव्र हुन थालेको छ। क्षेत्रीय नेतृत्वका लागि नेताहरूले आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन्। यसैक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष तथा कांग्रेस नेता गफार अन्सारीले क्षेत्रीय सभापति पदमा उम्मेदवारी दिने निश्चित गरेका छन्।
कांग्रेसको १४औँ महाधिवेशनमा लोकप्रिय मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका अन्सारीले यसअघि सुनसरी जिल्ला उपसभापति पदमा समेत प्रतिस्पर्धा गरेका थिए। तीव्र प्रतिस्पर्धाबीच उनी जम्मा १८ मतको अन्तरले पराजित भएका थिए।
१४औँ महाधिवेशनमा देखिएको उनको मताधार र संगठनभित्रको सक्रियतालाई आधार मान्दै यसपटक अन्सारीलाई क्षेत्रीय सभापतिको बलियो दाबेदारका रूपमा हेरिएको छ।
अन्सारी हरिनगर गाउँपालिकाको अध्यक्षमा लगातार दुई कार्यकाल निर्वाचित भएका छन्। स्थानीय तहको नेतृत्वमा रहँदा विकास निर्माण, शिक्षा तथा सामाजिक क्षेत्रका विभिन्न काममा सक्रिय रहेको उनको दाबी छ।
स्थानीय राजनीतिमा मात्र नभई जिल्ला तथा केन्द्र तहका कांग्रेस नेताहरूसँग समेत समन्वय गर्दै आएका अन्सारीले क्षेत्रका विकास आयोजना तथा जनसरोकारका विषयमा पहल गर्दै आएको बताइन्छ। स्थानीय प्रशासन तथा विभिन्न सरकारी निकायसँग समन्वय गर्न सक्ने क्षमतालाई पनि उनका समर्थकहरूले उनको राजनीतिक बलका रूपमा व्याख्या गरेका छन्।
अन्सारीको राजनीतिक शैलीमा व्यक्तिगत सम्पर्क र संगठन विस्तारलाई विशेष महत्त्व दिइएको देखिन्छ। स्थानीय तहमा कार्यकर्ता तथा सर्वसाधारणसँगको निरन्तर सम्पर्क, जनताका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने शैलीले उनको प्रभाव क्षेत्र विस्तार भएको कांग्रेस नेताहरूको भनाइ छ।
युवा, महिला, ज्येष्ठ नागरिक तथा विभिन्न समुदायसँग सहज संवाद गर्न सक्ने नेताका रूपमा समेत अन्सारीको छवि बनिरहेको उनका समर्थकहरूको दाबी छ।
क्षेत्रीय सभापतिको उम्मेदवारी घोषणा गर्दै अन्सारीले पार्टी संगठनलाई अझ व्यवस्थित र सुदृढ बनाउने, कार्यकर्ताको भूमिकालाई बलियो बनाउने तथा क्षेत्र नम्बर ४ का विकास र जनसरोकारका मुद्दालाई कांग्रेसको राजनीतिक एजेन्डासँग जोडेर अघि बढाउने तयारी गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरी क्षेत्र नम्बर ४ मा नेतृत्वका लागि प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ। अन्सारीको उम्मेदवारीसँगै क्षेत्रीय सभापतिको निर्वाचनमा नयाँ समीकरण बन्ने र कांग्रेसको स्थानीय राजनीतिमा समेत यसको प्रभाव देखिन सक्ने आँकलन गरिएको छ।
यसअघि जिल्ला उपसभापतिमा १८ मतको झिनो अन्तरले पराजित भएका अन्सारीका लागि यसपटकको क्षेत्रीय सभापतिको चुनाव राजनीतिक प्रभाव र संगठनात्मक पकड परीक्षण गर्ने महत्वपूर्ण अवसरका रूपमा समेत हेरिएको छ।