विराटनगर । परराष्ट्रमन्त्री शिशिर खनाल आगामी १४ भदौमा सर्बिया जाने भएका छन्।
सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभामा सहभागी हुन मन्त्री खनाल सर्बिया जान लागेका हुन्।
भदौ १५ र १६ मा बेलग्रेडमा आयोजना हुने स्मरणसभामा परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ।
नेपालले आफ्नो परराष्ट्र नीति सञ्चालनको आधारस्तम्भका रूपमा असंलग्नताको सिद्धान्तलाई अंगीकार गर्दै आएको छ।
सोही नीतिअनुसार नेपालले असंलग्न आन्दोलनका विभिन्न गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ।परराष्ट्रमन्त्री खनाल १७ भदौमा सर्बियाबाट नेपाल फर्कने कार्यक्रम रहेको छ।