विराटनगर । नेपाली कांग्रेसले वर्तमान सरकारका गतिविधिले लोकतन्त्र, सुशासन र कूटनीतिक मर्यादामाथि प्रश्न उठाएको आरोप लगाएको छ।
पार्टी प्रवक्ता देवराज चालिसेले बुधबार सानेपामा पत्रकार सम्मेलन गर्दै सरकारका कामकारबाहीबारे १० वटा प्रश्न सार्वजनिक गरेका हुन्।
कांग्रेसले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप, विपक्षीमाथि राज्य शक्तिको दुरुपयोग, पासपोर्ट खरिद प्रकरणमा पारदर्शिताको अभाव, भ्रष्टाचार छानबिनमा उदासीनता र संवैधानिक निकायमाथि दबाब दिएको आरोप लगाएको छ।
त्यस्तै, राजदूत फिर्ता र नियुक्ति प्रक्रिया, गृहमन्त्री जोडिएको प्रकरण, मन्त्रीहरूको विवादास्पद अभिव्यक्ति तथा सुनसरी र मधेसका सामाजिक तनाव समाधानमा सरकारको भूमिकामाथि पनि कांग्रेसले प्रश्न उठाएको छ।
उनले सरकारले उठेका प्रश्नको जवाफ व्यवहारबाट दिनुपर्ने भन्दै नियुक्ति र निर्णयमा देखिएको राजनीतिक प्रभावले मुलुकलाई संकटतर्फ धकेल्न सक्ने चेतावनी दिए।