काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा उत्पन्न भएको सुरक्षा अवस्था र बढ्दो तनावबारे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङबीच छलफल भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जबाट सुरु भएको हिंसात्मक घटनाले मधेशका विभिन्न जिल्लामा पारेको प्रभाव तथा पछिल्लो सुरक्षा अवस्थाबारे समीक्षा गरिएको बताइएको छ।
सुनसरी घटनाको विरोधमा विभिन्न जिल्लामा प्रदर्शन, आगजनी, तोडफोड तथा झडपका घटना भइरहेका बेला बिहीबार पनि प्रदर्शनका क्रममा एक जनाको गोली लागेर मृत्यु भएको छ। त्यसपछि विकसित सुरक्षा अवस्थालाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीबीच आकस्मिक छलफल भएको हो।
गृहमन्त्रालय स्रोतका अनुसार छलफलमा शान्ति–सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने, संवेदनशील क्षेत्रमा सुरक्षा परिचालन सुदृढ गर्ने तथा स्थिति नियन्त्रणमा लिन आवश्यक कदमबारे छलफल भएको छ।