विराटनगर। जनमत पार्टीले प्रदेश खारेज गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावप्रति विरोध जनाएको छ ।
रास्वपाको महाधिवेशन बन्दसत्रमा पार्टी उपसभापति स्वर्णिम वाग्लेले प्रदेशसभा खारेजी र स्थानीय तह एकतिहाइ कटौती गरी संघीय संरचनामा व्यापक फेरबदल गर्ने प्रस्ताव राखेपछि त्यसलाई लिएर जनमत पार्टीले विरोध गरेको हो।
सिके राउत लेखेका छन्,‘सबै पार्टीले आआफ्नो राजनीतिक एजेण्डा लिन स्वतन्त्र छन्, कसैले राजतन्त्रको पुनर्स्थापनालाई लिएका छन् भने कसैले प्रदेशको खारेजी। त्यसैले अरू पार्टीले के एजेण्डा बोक्छन् त्यो पार्टीको आन्तरिक कुरा होला। त्यसैगरी कुनै पार्टीले प्रदेश सभा खारेजीको एजेण्डा राख्नेबित्तिकै प्रदेश सभा खारेज हुने होइन, किनकि अहिलेको सरकारबाट संविधान संशोधन हुन सक्दैन, त्यसैले कोही तुरून्तै आत्तिहाल्नु पर्ने अवस्था चाहिँ होइन ।’
चुनावअघि प्रधानमन्त्री बालेन शाहले जनकपुरमा भएको सभामा प्रदेशलाई बलियो बनाउने कुरा गरेका थिए।