काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नारायणहिटी राजदरबार हत्याकाण्डबारे विवादास्पद अभिव्यक्ति दिएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारको हत्यामा अन्तर्राष्ट्रिय शक्तिहरूको संलग्नता रहेको दाबी गरेका हुन्।
प्रसाईँले राजदरबार हत्याकाण्डको विषयमा पुनः अनुसन्धान हुनुपर्ने माग गर्दै घटनाको वास्तविकता सार्वजनिक गर्न सरकारसँग आग्रह गरे। उनले केही विदेशी संस्था तथा शक्तिहरूको प्रभावमा नेपालमा राजसंस्था र हिन्दुराष्ट्र समाप्त पारिएको आरोप समेत लगाए।
पत्रकार सम्मेलनमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनमाथि पनि टिप्पणी गर्दै विभिन्न राजनीतिक परिवर्तनमा भूमिका खेलेको आरोप लगाए। यस्तै, देशका प्रमुख राजनीतिक नेताहरूमाथि राष्ट्रिय हितविपरीत गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै कडा आलोचना गरे।
नेपाल–भारत सीमा विवाद र समसामयिक राजनीतिक विषयमा धारणा राख्दै प्रसाईँले सरकारले राजदरबार हत्याकाण्ड अनुसन्धानको विषयलाई जनताको ध्यान अन्यत्र मोड्न प्रयोग गरिरहेको दाबी गरे।
प्रसाईँले राजसंस्था पुनर्स्थापनाको विषयमा समेत धारणा व्यक्त गर्दै राजसंस्था अन्त्य गराउन भूमिका खेलेका शक्तिहरूमाथि निर्भर रहेर राजसंस्था पुनर्स्थापना सम्भव नहुने बताए।
उनका अभिव्यक्तिहरू सार्वजनिक भएपछि सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया देखिन थालेका छन्। प्रसाईँले लगाएका आरोपबारे सम्बन्धित पक्षबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन।