विराटनगर ।विराटनगर विमानस्थलभित्र सञ्चालित होटल तथा क्याफेहरूले उपभोक्तासँग अत्यधिक मूल्य असुलेको पाइएपछि स्थानीय प्रशासनले कारबाही गरेको छ।
मंगलबार साँझ जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा गरिएको आकस्मिक अनुगमनका क्रममा उपभोक्तालाई चर्को मूल्यमा खाद्य तथा पेय पदार्थ बिक्री गर्ने ममता होटल, ग्यालेक्सी क्याफे एण्ड होटल, गरिमा क्याफे तथा अनुकुल होटल एन्ड भान्सा घरलाई जनही ३ लाख रुपैयाँका दरले जरिवाना गरिएको हो।
ममता होटलले १०० रुपैयाँ मूल्य पर्ने डेरी मिल्क चकलेट २०० रुपैयाँमा बिक्री गरेको पाइएको छ। त्यसैगरी, ग्यालेक्सी क्याफे एण्ड होटलले ५० रुपैयाँ पर्ने कोकाकोलाको बोतल १६० रुपैयाँमा बिक्री गरी बिलसमेत जारी गरेको भेटिएको थियो।
गरिमा क्याफेले ५० रुपैयाँ पर्ने कोकाकोलाको बोतल ८० रुपैयाँमा बिक्री गरेको तथा अनुकुल होटलले ८ रुपैयाँ मूल्य पर्ने चकलेट १७ रुपैयाँ ६९ पैसामा बिक्री गरेको फेला परेको प्रशासनले जनाएको छ।
खाजा तथा पेय पदार्थमा मनपरी मूल्य लिएको जनगुनासो बढेपछि प्रशासनको अनुगमन टोली विमानस्थल पुगेको थियो।
अनुगमनका क्रममा व्यवसायीहरूले यात्रु तथा उपभोक्ताको बाध्यताको फाइदा उठाउँदै सामानको मूल्य दोब्बरभन्दा बढी असुलेको भेटिएको थियो।