काठमाडौं । गृहमन्त्री सुधन गुरुङले २०५८ सालको नारायणहिटी दरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया पुनः अघि बढाउने निर्णय गरेका छन्।
मंगलबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै गृहमन्त्री गुरुङले गरेका पहिलो चार निर्णयमध्ये दरबार हत्याकाण्डको अनुसन्धानलाई पुनः सक्रिय बनाउने विषय पनि समावेश गरेका हुन्।
वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य शाह, युवराज दीपेन्द्र शाह, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, शारदा, शान्ति, शाहज्यादी जयन्ती, राजा वीरेन्द्रका भाइ धीरेन्द्र तथा कुमार खड्गविक्रम शाहको मृत्यु भएको थियो।
घटनापछि तत्कालीन सरकारले प्रधानन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले सार्वजनिक गरेको प्रतिवेदनमा युवराज दीपेन्द्रले परिवारका सदस्यहरूमाथि गोली चलाएपछि आफूलाई समेत गोली हानेको निष्कर्ष प्रस्तुत गरेको थियो।
यद्यपि दरबार हत्याकाण्डबारे विभिन्न समयमा प्रश्न उठ्दै आएका छन्। घटनाको वास्तविकता सार्वजनिक नभएको भन्दै थप अनुसन्धानको माग पनि हुँदै आएको छ।
गृहमन्त्री गुरुङको पछिल्लो निर्णयसँगै झण्डै २५ वर्ष पुरानो उक्त घटनाको अनुसन्धान फेरि चर्चामा आएको छ। अनुसन्धान कुन ढाँचामा अघि बढाइन्छ र यसले कस्तो निष्कर्ष दिन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।