सुर्खेत । दैलेखमा बोलेरो जिप दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु, पाँच जना घाइते भएका छन्। सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको सुप.०१००१ च ४९६४ नम्बरको बोलेरो जिप दैलेखको भैरबी गाउँपालिका–७ कालगौंडीमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी श्रवणकुमार विकका अनुसार स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा घाइतेहरूको तत्काल उद्धार गरिएको थियो ।
घाइतेमध्ये दुई जनाको स्थानीय भैरवी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने बाँकी तीन जनालाई थप उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको छ। घाइतेहरूको अवस्था र मृतकको पहिचान खुल्न बाँकी छ।
यो सडकखण्ड पछिल्लो समय निकै जोखिमपूर्ण बन्दै गएको छ । सडकको जीर्ण अवस्था र भौगोलिक विकटताका कारण यो मार्गमा यात्रा गर्ने यात्रुहरू जोखिममा पर्ने गरेको स्थानीय बताउँछन् ।