काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण स्वास्थ्य सेवा प्रभावित हुन सक्ने भन्दै देशभरका सरकारी अस्पतालमा आज शुक्रबार पनि ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
मन्त्रालयले २०८३ साल वैशाख १७ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैशाख १८, १९ र २० गते सार्वजनिक बिदा परेकाले बहिरङ्ग (ओपिडी) सेवा अवरुद्ध भई सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्था देखिएको जनाएको छ। सोही कारण वैशाख १८ गते ओपिडी सेवा सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको हो।
मन्त्रालयले सेवाग्राहीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले देशभरका सबै सरकारी अस्पताललाई ओपिडी सेवा खुला राख्न अनुरोध गरेको छ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बिदाका कारण सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।