काठमाडौं — कर्णाली प्रदेशका युवाहरूले आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनमा ई–भोटिङ प्रणाली लागू गर्न निर्वाचन आयोग नेपाल को ध्यानाकर्षण गराएका छन्।यसका लागि उनीहरूले आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी लाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्रमा नेपालभित्रै रहेका लाखौँ नागरिकहरू विभिन्न कारणले मतदान अधिकार प्रयोग गर्नबाट वञ्चित भइरहेको उल्लेख गरिएको छ। युवा समूहका संयोजक आशिष देवकोटा का अनुसार समस्या केवल विदेशमा रहेका नेपालीसँग मात्र सीमित नभई देशभित्रकै नागरिकहरूमा पनि गम्भीर रूपमा देखिएको छ।
उनका अनुसार मुगु, डोल्पा, जुम्ला, बाजुरा र हुम्ला जस्ता दुर्गम जिल्लाका नागरिकहरूलाई मतदान गर्न काठमाडौं वा तराईसम्म आउन–जान मात्रै प्रति व्यक्ति २५–३० हजार रुपैयाँसम्म खर्च लाग्ने अवस्था रहेको छ।
यसका कारण धेरै नागरिक व्यावहारिक रूपमा मतदान प्रक्रियाबाट बाहिरिने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ। युवाहरूले प्रविधिको प्रयोगमार्फत सहज, पहुँचयुक्त र समावेशी मतदान प्रणाली विकास गर्न आयोगसँग आग्रह गरेका छन्।