जनकपुरधाम— निर्वाचन आचारसंहिताविपरीत पैसा बाँड्दै गरेको अवस्थामा धनुषा–४ का स्वतन्त्र उम्मेदवार राजकिशोर महरा पक्राउ परेका छन्।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४, चन्द्रपुर टोलबाट पैसा बाँड्दै गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेशबहादुर बमका अनुसार महरालाई ४५ हजार रुपैयाँभन्दा बढी नगदसहित पक्राउ गरिएको हो। घटनास्थलबाट ४८ हजार ५ सय रुपैयाँ नगद तथा आर्थिक कारोबारसम्बन्धी विवरण उल्लेख गरिएको डायरीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीसँगै रहेका अन्य तीन जना भने फरार रहेका छन्।
पक्राउ परेका उम्मेदवार महरा तथा प्रयोग गरिएको गाडीलाई आवश्यक कारबाहीका लागि निर्वाचन आयोगको कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।