महोत्तरी। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन्जी पुस्ताले उठाएका मागहरू सम्बोधन गर्न कांग्रेस नै सक्षम रहेको बताएका छन्।
महोत्तरीको जलेश्वरमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुशासन, पारदर्शिता, रोजगारी र अवसरसम्बन्धी युवापुस्ताका मागहरू समयानुकूल र जायज रहेको उल्लेख गरे। ती मागहरूको व्यवहारिक कार्यान्वयन गर्न कांग्रेससँग स्पष्ट दृष्टिकोण र योजना रहेको उनको दाबी थियो।
उपसभापति शर्माले वर्तमान राजनीतिक तथा आर्थिक चुनौतीका बीच मुलुकलाई सही दिशामा अघि बढाउन कांग्रेसले नै नेतृत्व गर्न सक्ने बताए। पार्टीभित्र युवाहरूको बढ्दो सक्रियता र नेतृत्वदायी भूमिकालाई सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै उनले नयाँ पुस्तासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
कांग्रेस विकास, सुशासन र आर्थिक समृद्धिको स्पष्ट एजेन्डासहित अघि बढिरहेको उल्लेख गर्दै उनले देशलाई अस्थिरताबाट स्थायित्वतर्फ, निराशाबाट आशातर्फ र कमजोर अर्थतन्त्रबाट समृद्धितर्फ लैजान कांग्रेस पुनः नेतृत्वदायी भूमिकामा आउने विश्वास व्यक्त गरे।