काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो बन्ने जिकिर गरेका छन्।
सोमबार झापा–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू सरकारबाट बाहिरिएपछि देशमा विकासका काम ठप्प हुने दाबी गरे। “मैले सरकारको नेतृत्व गर्नासाथ व्यापक काम सुरु हुन्छ, तर कामको गति देखेपछि विरोधीहरू थर्कमान हुन्छन्,” ओलीले भने।
उनले आफू काम गर्न थालेपछि भूमिगत गिरोहसमेत आत्तिने दाबी गर्दै त्यसलाई रोक्नकै लागि आफूलाई सरकारबाट हटाइने गरेको टिप्पणी गरे। “मलाई हटाएपछि काम रोकिन्छ, फेरि म आउनुपर्छ,” उनले भने।
ओलीले आफू सरकारमा फर्किएपछि मात्रै देश अघि बढ्ने दाबी दोहोर्याउँदै भने, “म सरकारमा आउनेबित्तिकै देश कुद्छ, मैले छाडेपछि देश जहाँको त्यहीँ बस्छ।”
कतिपयले फेरि किन उम्मेदवार बन्नुभएको भन्ने प्रश्न उठाएको उल्लेख गर्दै उनले अधुरा काम पूरा गर्न पुनः उम्मेदवार बनेको बताए। “धेरै काम भएको छ, तर अझै धेरै गर्न बाँकी छ,” ओलीको भनाइ थियो।