पुरानै गणित दोहोरिए स्थिर सरकार सम्भव हुँदैन : स्वर्णिम वाग्ल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनपछि पनि पुरानै सत्ता–गणित दोहोरिएमा देशमा स्थिर सरकार बन्न नसक्ने चेतावनी दिएका छन् ।
फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै वाग्लेले स्थिर सरकार नबने पुरानै सत्ता गठबन्धनले देशलाई फेरि पनि ‘सरकार फेर्ने घनचक्कर’मा फसाउने जोखिम रहेको बताएका छन् । उनका अनुसार यसले स्पष्ट नीति निर्माण, तीव्र सुधार र प्रभावकारी कार्यसम्पादनलाई जटिल बनाउनेछ ।
‘चुनावपछि फेरि पुरानै गणित दोहोरियो भने स्थिर सरकार सम्भव छैन,’ वाग्लेले लेखेका छन्, ‘पुराना गठबन्धनका नाममा हुने सत्ता–सम्झौता, तानातान र पद–लालचले देशलाई फेरि पनि सरकार फेर्ने घनचक्करमा फसाउनेछ ।’
उनले यस्तो अवस्थाको प्रत्यक्ष असर विकास, लगानी, रोजगारी र नागरिक सेवामा पर्ने उल्लेख गरेका छन् । त्यसैले देशलाई स्थायित्व र स्पष्ट दिशातर्फ लैजान रास्वपालाई बहुमत दिनुपर्ने उनको आग्रह छ ।