काठमाडौं, ११ माघ। रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। शनिबार राति सम्पन्न खेलमा रियलले भिल्लारियललाई २–० गोलअन्तरले हराउँदै पहिलो स्थान कब्जा गरेको हो।
रियलको जितमा फ्रान्सेली स्टार किलियन एमबाप्पे निर्णायक बने। उनले दुवै गोल दोस्रो हाफमा गरे। ४७औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका एमबाप्पेले इन्जुरी समयमा पेनाल्टीमार्फत अर्को गोल थप्दै जित सुनिश्चित गरे।
यो जितपछि रियलले २१ खेलबाट ५१ अंक जोडेको छ। एक खेल कम खेलेको बार्सिलोना ४९ अंकसहित दोस्रो स्थानमा रहेको छ।
आइतबार राति हुने खेलमा जित निकालेमा बार्सिलोना पुनः शीर्षस्थानमा फर्कनेछ।