विराटनगर । लगानी खोज्ने र लगानी गर्न चाहनेबीच व्यवसायीक सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ कोशी प्रदेशको राजधानी विराटनगरमा एन्जल इन्भेस्टर्स नेटवर्क (वेन) को स्थापना गरिएको छ ।
उद्योग संगठन मोरङको नेतृत्वमा सम्भावित लगानीकर्ताहरूको पुल बनाई नवप्रवर्तनमा आधारित उद्यम व्यवसायमा लगानीको आवश्यकतामा साझेदार गर्ने उद्देश्यले आइडिया टु इम्पयाक्टको नाराका साथ यो कम्पनी स्थापना भएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बिहीबार संगठनद्वारा आयोजित कार्यक्रममा एन्जल इन्भेस्टर्स नेटवर्कको औपचारिक शुभारम्भ गरेका हुन् ।
शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री कार्कीले नेपालमै पहिलोपटक सुरु गरिएको यस कार्यक्रमलाई थप टेवा पुर्याउन कोशी प्रदेश सरकारले हातेमालो गर्ने प्रतिबद्धता जनाए ।
प्रदेश सरकारले भर्खरै लगानी सम्मेलन आयोजना गरी लगानीकर्ताहरूलाई आह्वान गरिरहेको पृष्ठभूमिमा स्थापना भएको यो कम्पनीले कोशी प्रदेश लगानीका प्रचुर सम्भावना भएको क्षेत्र पुनः पुष्टि गरेको बताउँदै संगठनको यो सह्रानीय कामका लागि धन्यवाद व्यक्त गरे ।
साथै मुख्यमन्त्री कार्कीले नवप्रवर्तनमा स्टार्टअप उद्यमीहरूलाई खोजी गर्ने, लगानीका लागि योग्य बनाउने र लगानीकर्ताहरू माझ प्रस्तुत गर्नेसम्मको विस्तृत प्रक्रियामा संगठनको स्टार्टआप एन्ड इन्क्युवेसन कार्यक्रमलाई कोशी प्रदेश सरकारले अपनत्व ग्रहण गर्दै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साथै कार्यक्रममा प्रस्तुत गरिएका नौवटा स्टार्टअप कम्पनीहरूको प्रस्तुतीकरण हेरिसकेपछि मुख्यमन्त्री कार्कीले नौ वटै परियोजनालाई कोशी प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै ट्र्याक अन नेपाल नामक कम्पनीका लागि व्यवसायिक नेटवर्क स्थापनामा कोशी प्रदेश सरकारले सहजीकरण गर्ने वताए ।
संगठनका अध्यक्ष नन्दकिशोर राठीले विगत पाँच वर्षदेखि स्टार्टअपहरूसँग कार्य गर्दा सबैभन्दा ठूलो चुनौती वित्तीय स्रोतको अभाव रहेको पाइएको बताउदै त्यसको पूर्ति गर्दै दीर्घकालीन सहयोग पुर्याउने उद्देश्यले सम्भावित लगानीकर्ताहरूलाई एकीकृत गर्दै एन्जल इन्भेस्टर्स नेटवर्क नामक गैर नाफामूलक संस्था स्थापना गरेको बताए ।
उनले उक्त नेटवर्कले लगानीयोग्य परियोजनाहरू छनोट गरी लगानीकर्तासमक्ष प्रस्तुत गर्नुका साथै लगानीको खोजीमा रहेका स्टार्टअपहरूलाई लगानीका अवसर प्रदान गरी स्टार्टअपहरूका लागि वित्तीय पहुँचको अवसर र लगानीकर्ताहरूका लागि नयाँ व्यवसायमा लगानी गर्ने उपयुक्त वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष राठीले भने, ‘स्टार्टअप उद्यमीहरूले लगानी मात्र खोजिरहेका हुँदैनन्, व्यवसायीक अनुभव र नेटवर्कको समेत आवश्यकता पर्छ । यसैले एन्जल इन्भेस्टर्स नेटवर्कले लगानीका साथ-साथै व्यवसायिक अनुभव र नेटवर्कको खाँचो परिपूर्ति गर्छ ।’
त्यसैगरी, यस कार्यक्रममार्फत लगानीकर्ताहरूले समेत नयाँ लगानीको अवसरहरू प्राप्त गर्ने भएकोले यो लगानीकर्ता र लगानी खोज्ने दुवै पक्षका लागि जित-जित हुने उनले स्पष्ट पारे ।
एन्जल इन्भेस्टर्स नेटवर्क (वेन) का संयोजक सुयश प्याकुरेलले पाँच वर्षअघि उद्योग संगठनमा स्टार्टअप कार्यक्रम प्रारम्भ गर्दा यसको भविष्यप्रति चिन्ता भएको भए पनि सहयोगी हातहरू बढ्दै गएका कारण छोटो समयमै सय स्टार्टअप आइडिया सफलतापूर्वक इन्क्युबेट भएकोमा खुशी व्यक्त गरे ।
उनले सानो स्तरका विशेषतः पहिलो पुस्ताका स्टार्टअपलाई लगानी जुटाउन गाह्रो हुने भएकाले वेनमार्फत यस्तो सम्भावना बोकेका आइडियालाई फन्डिङ तथा व्यवसायिक सेवा प्रदान गर्ने जानकारी गराए ।
संगठनका पूर्वअध्यक्ष समेत रहेका प्याकुरेलले केही लगानीकर्ताहरू मिलेर पहिलो चरणमा दुई करोडको लगानीको पुल बनाएको जानकारी गराउँदै इच्छुक लगानीकर्ताहरूलाई वेनमा आबद्ध हुन आह्वान गरे ।
उनले स्टार्टअपको व्यवसायीक विकासलाई मध्यनजर गरी यो कार्यक्रम संगठनले प्रारम्भ गरेको भए पनि अबका दिनमा प्रदेश सरकारको स्वामित्वमा लैजानुपर्ने आवश्यकता औंल्याए ।
वेनलाई प्रदेश सरकारको आधिकारिक उद्यमशीलता साझेदारको रूपमा मान्यता दिन, स्टार्टअप दर्ता प्रक्रियाका लागि सरल नीति बनाउन, एन्जल लगानीमा कर छुट प्रोत्साहनको पहल गर्न, व्यवसाय सम्बर्धन केन्द्र र नवप्रवर्तनमा सहयोग पुर्याउन, वेनसँग सहकार्य गर्दै बिउ पूँजी कोष स्थापना गर्न, प्रदेश सरकारका तर्फबाट सम्पर्क व्यक्ति तोक्न र आर्थिक समितिमा वेनका प्रतिनिधि समावेश गर्ने प्रतिबद्धताका लागि मुख्यमन्त्रीसमक्ष उनले अनुरोध गरे ।
कार्यक्रममा ट्र्याकअन नेपाल, साइबर अर्लट नेपाल, सिसा, सोल्भी, आरा टेक्नोलोजी प्रा.लि, कुखुरी काँ, आरती फ्लावर, अपेक्स वायोटेक एन्ड एग्रोफोरेस्ट्री रिसर्च सेन्टर प्रा.लि र सुसन विष्ट इन्स्टिच्युट अफ फ्लाइट एन्ड ड्रोन गरी नौ वटा स्टार्टअपले आ–आफनो स्टार्टअपको पिचिङ गरेका थिए ।
जसमा सबै कम्पनीमा लगानीकर्ताहरूले विशेष रुचिका साथ आफ्नो व्यवसायिक नेटवर्क, अनुभव, मेन्टरसिप तथा आवश्यकताअनुसार लगानीसमेत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसरी प्रतिबद्धता व्यक्त गर्ने एन्जल इन्भेष्टर्सहरूमा क्रमशः महेश जाजु, सुयश प्याकुरेल, राकेश सुराना, भोलेश्वर दुलाल, सुरेन्द्र गोल्छा, प्रत्युष राउत, सुजित झा, किरण ब्यास रहेका थिए ।
आज गरेको लगानी साझेदारको प्रतिबद्धता लगानीकर्ताहरूको रुचि रहेको जनाउने भएकोले यसरी प्रतिबद्धता व्यक्त गर्ने लगानीकर्ताहरूका लागि एन्जल इन्भेस्टर्स नेटवर्कमार्फत सम्बन्धित स्टार्टअप उद्यमीहरूको विस्तृत अध्ययन, डयु डेलिजेन्स गरी दुवै पक्षबीच व्यवसायिक डिलका लागि सम्झौता गरेर लगानीको प्रक्रिया अगाडि बढ्ने संगठनको उद्यमशीलता तथा स्टार्टअप कार्यक्रमका संयोजक प्रतीक राउतले जानकारी गराए ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजु थपलियाले विश्वविद्यालयले यस कार्यक्रमलाई थप प्रोत्साहन गर्न विश्वविद्यालय सहकार्य गर्न तयार रहेको बताए ।
उनले नवउद्यमीको विकास गर्नु विश्वविद्यालयको समेत जिम्मेवारी भएकाले यस प्रकारको कार्यक्रम बढावा दिने सबैको हातेमालो आवश्यक रहेको औल्याए ।
स्विस कन्ट्याक्ट सहज परियोजनाका म्यानेजर ब्रजेश मल्लले नवप्रवर्तनको संस्कृति निर्माण गर्ने अभियानमा परियोजनाको सदैव सहयोग रहने बताउँदै युवालाई प्रदेशमै अवसर प्रदान गर्न यस प्रकारको कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
स्मरणर होस् संगठनले स्टार्टअप उद्यमशीलता प्रवर्द्धनका लागि दीगो इको सिस्टम सुदृढीकरण गर्ने उद्देश्यले सञ्चालन गरिरहेको स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमअन्तर्गत हालसम्म ६ वटा कोहर्टमार्फत सय भन्दा बढी स्टार्टअपहरूको सहभागिता रहेको छ ।
त्यसैगरी स्टार्टअप उद्यमीहरूका लागि सुरुवाती अवस्थामा काम गर्ने ठाउँ तथा नेटवर्क बनाउने ठाउँको अभावलाई सम्बोधन गर्न संगठनको सचिवालयमा विराटनगर इन्क्युवेसन सेन्टरसमेत सञ्चालनमा रहेको छ ।
तसर्थ, स्टार्टअप उद्यमीका लागि चुनौतीका रूपमा रहेको वित्तीय पहुँचमा सहजीकरण गर्न स्थापित यस एन्जल इन्भेस्टर्स नेटवर्कले स्टार्टअप इकोसिस्टममा थप एक कडिका रूपमा भूमिका निर्वाह गर्दै उद्यमशीलताप्रति आकर्षण पैदा गर्ने अपेक्षा संगठनले लिएको छ ।
यस कार्यक्रममा जोडिन चाहने लगानीकर्ता र स्टार्टअप उद्यमीहरूका लागि भर्चुअल प्लेटफर्मका रूपमा विराटनगर एन्जल्स डटकम नामक वेवसाइट बिहीबारबाटै सञ्चालनमा आएको छ ।
कोशी प्रदेशलाई नवीन उद्यमशीलताको विकासको हब बनाउने अभिप्रायका साथ स्थापना गरिएको विराटनगर एन्जल इन्भेस्टर्स नेटवर्कलाई स्वीस कन्ट्याक्ट सहज परियोजना र इन्भेष्टमेन्ट इन्फ्राको प्राविधिक सहयोग रहेको संगठनले जनाएको छ ।