विराटनगर । मोरङको रंगेली नगरपालिकामा बसको ठक्करबाट मृत्यु भएकी बालिकाको परिवारलाई क्षतिपूर्ति माग गर्दै सडक अवरुद्ध गरिएको छ ।
सोमबार दिउँसो यात्रुबाहक बसको ठक्करबाट १३ वर्षीया बालिकाको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै कानेपोखरी–रंगेली सडक अवरुद्ध गरिएको हो ।
आफन्त र स्थानीयले रंगेली–कानेपोखरी सडक खण्ड अवरुद्ध गरेका हुन् ।
रंगेली नगरपालिका–७ निचामारी चोकमा सोमबार दिउँसो २ः२० बजे बसले बालिकालाई ठक्कर दिँदा स्थानीय मीरा मण्डलको मृत्यु भएको थियो ।
कानेपोखरीबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख २१०३ नम्बरको बसले दिउँसो २ः२० बजेतिर ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
मण्डललाई उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल पुर्याउनासाथ दिउँसो २ः४० बजेतिर चिकित्सकले मृत घोषित गरेका थिए ।
बस र चालक मोरङको कटहरी गाउँपालिका–७ का अन्दाजी ५५ वर्षीय चन्द्रबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । बालिकाले अचानक बाटो काट्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनालगत्तै आक्रोसित बनेका स्थानीयले बसमा तोडफोड गरेका थिए । तोडफोडबाट बसको अगाडिको सिसा फुटेको छ । प्रहरीका अनुसार दुर्घटनालगत्तै जम्मा भएको आक्रोसित भिड एक्कासि ढुंगामुढा र तोडफोडमा उत्रिएको थियो ।



