विराटनगर । पछिल्लो केही समययता प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरप्रमुख बालेन शाहबीचको आरोप–प्रत्यारोप सतहमै देखिने गरेको छ ।
बालेनले सामाजिक सञ्जालमा ओलीविरुद्ध पोस्ट गर्ने र ओलीले सार्वजनिक कार्यक्रममै बालेनमाथि जाइलाग्ने प्रवृत्तिले पनि यी दुईबीचको सम्बन्ध चिसिएको आँकलन गर्न सकिन्छ ।
पछिल्लोपटक पनि प्रधानमन्त्री ओली मेयर बालेनमाथि खनिएका छन् । काठमाडौं महानगरपालिकाका नगर प्रहरीले सडकमा आतंक मच्चाएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।
ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवस कार्यक्रमको सम्बोधनमा उनले नगर प्रहरीको काम गरिब लखेट्ने नभएको बताए ।
महानगरका नगर प्रहरीले डोजर आतंक मच्याएर गरिबको घरबार भत्काइदिएको भन्ने अभिव्यक्ति दिएका थिए ।
बालेनको निर्देशनमा त्यहाँका नगर प्रहरीले फुटपाथ हटाउने भन्दै सडकका व्यापारीदेखि मकै पोल्न बसेका सर्वसाधारणसम्मलाई आतंकित गरिरहेको भन्दै ओली आक्रोशित बनेका हुन् ।
काठमाडौंका नगर प्रहरीले ठेला, साइकल र गाडामा सब्जी, अन्य उपभोग्य सामान बेच्नेलाई लखेट्ने गरेको ठीक नभएको ओलीको जिकिर छ ।
ललितपुरमा भने त्यस्तो नभएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘कम्तीमा ललितपुर नगर प्रहरीले गुर्रर जीपमा कुदेर, अर्कै लोकबाट झरे जस्तो गरेर पिर्रपिर्र सिट्ठी बजाउँदै आतंक मच्चाउँदै, ठेला फाल्दै, गरिबका तरकारी र टमाटर फाल्दै हिँडेको मैले देखेको छैन । नगर प्रहरीलाई धन्यवाद’, उनले भने, ‘नगर प्रहरी आतंकको पर्याय होइन, नगरबासीको रक्षक हुनुपर्छ ।’