इटहरी । कोशी राजमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका-१३ खनारमा यात्रुवाहक बसको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको नागरिक यातायातको बसले ठक्कर दिँदा इटहरीस्थित जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सम्झना यादवको मृत्यु भएको थियो ।
आइतबार दिउँसो भएको उक्त दुर्घटनापछि भागेको बसमा आक्रोशित स्थानीयबासीले आगजनी गरेका हुन् ।
आगजनीका कारण बस पूर्ण रूपले ध्वस्त भएको छ । सो दुर्घटनालगत्तै खनारक्षेत्र तनावग्रस्त बनेको थियो ।
तनावग्रस्त बनेको अनार क्षेत्रको स्थितिलाई नियन्त्रणमा लिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यसक्रममा कोशी राजमार्ग भएर गुड्ने सवारी साधनलाई प्रहरीले सुनसरी मोरङ सिचाइँ आयोजनाको नहर हुँदै बाइपास गरेर सञ्चालन गरेको थियो ।
दुर्घटना गराउने बलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रारम्भ गरेको बताइएको छ ।
