फिदिम । पाँचथर प्रहरीले पाँचथरको तुम्वेवा गाउँपालिका-५ का ३५ वर्षीय असफल भनिने नरोध्वज कुरुम्वाङलाई पक्राउ गरेको छ ।
मिक्लाजुङ गाउँपालिका–३ आरुबोटको पेकुवास्थित ससुरालीघर पुगेर श्रीमतीको हत्या गर्ने असफललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
हाङ्गुमको पखरे टोलमा बाटोमा हिँड्दै गरेको अवस्थामा आज बिहान ७ः४० बजेतिर उनलाई पक्राउ गरिएको पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।
श्रीमतीको हत्या गरी सासू र छिमेकी दुई जनालाई खुकुरी प्रहार गरी घाइते बनाएर बेपत्ता भएका असफललाई खोजी गर्न ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
उनले मिक्लाजुङ-३ स्थित माइती घरमा रहेकी श्रीमती गोमा फियाकलाई हत्या गरी सासू कान्छिमाया र छिमेकी महेन्द्र श्रेष्ठलाई खुकुरी प्रहार गरेका थिए ।
कुरुम्वाङले पुस २६ गते साँझ ८ बजे घरायसी विवादमा ससुराली पुगेर ३५ वर्षीया श्रीमती गोमाको खुकुरी प्रहार गरी हत्या गरेका थिए ।
असफललाई रोक्न आएका छिमेकी महेन्द्र श्रेष्ठ र सासू आमा कान्छिमायालाई पनि घाइते बनाएर उनी बेपत्ता भएका थिए ।
घाइते दुवै जनाको झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार हुँदै छ ।
कुरुम्वाङ दम्पतीबीच पहिल्यैदेखि मेलमिलाप नभएको बताइएको छ । विवाद मिलाउन बसेका बखत खुकुरी प्रहार भएको थियो ।
पाँच वर्षअघि सोही ठाउँमा यस्तै प्रकृतिको घटना हुँदा नौ जनाको हत्या भएको थियो । त्यसबेला ज्वाईंले ससुराली र आफन्तको हत्या गरी आत्माहत्या गरेका थिए ।