काठमाडौं । चर्चित भारतीय युट्युबर ध्रुव राठीले रिहा भएपछि प्रहरीले आफूलाई अपहरण गरेर कुटपिट गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै राठीले आफू भारतीय नागरिक भएको र शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन पाउनु आफ्नो अधिकार भएको बताएका छन् । भिडियोमा उनले आफ्नो पासपोर्टसमेत देखाएका छन् ।
राठीका अनुसार असोज २४ गते बिहान करिब ७ बजे साधारण पोसाकमा आएका केही व्यक्ति आफ्नो घरमा प्रवेश गरेका थिए । उनीहरूले आफ्नी आमालाई धक्का दिँदै आफूलाई बेडरुमबाट घिसारेर लगेको उनको दाबी छ ।
उनले आफूलाई पक्राउ वा हिरासतमा लिएको नभई अपहरण गरिएको दाबी गरेका छन् । घरबाहिर ५० भन्दा बढी मानिस रहेको र आफूलाई अपराधीलाई जस्तै घिसारेर लगिएको उनले बताएका छन् ।
राठीले त्यसक्रममा आफूलाई चोट लागेको र मोबाइल फोनसमेत खोसिएको दाबी गरेका छन् । उनका अनुसार करिब २२–२३ घण्टासम्म आफूलाई वकिल तथा फोनको पहुँचबाट टाढा राखिएको थियो ।
उनले भारतको वर्तमान अवस्थामाथि प्रश्न उठाउँदै लोकतान्त्रिक देशमा कानून नतोडेको नागरिकलाई घरबाटै अपहरण गर्ने र परिवारका सदस्यलाई हातपात गर्ने घटना स्वीकार्य हुन नसक्ने बताएका छन् ।
राठीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि देशलाई ‘डिक्टेटरसिप’तर्फ लगेको आरोप लगाउँदै पछिल्लो अवस्थालाई ‘अनअफिसियल इमर्जेन्सी’को संज्ञा दिएका छन् । सीजेपीका नेतासहित सात हजारभन्दा बढी मानिसलाई हिरासतमा लिइएको दाबी गर्दै उनले यस्ता घटना आपत्काल वा उत्तर कोरियाजस्ता देशमा मात्रै हुने बताएका छन् ।
राठीले आफू अहिले पनि १५ जनाभन्दा बढी व्यक्तिको निगरानीमा रहेको र आफूलाई अघोषित ‘हाउस अरेस्ट’मा राखिएको दाबीसमेत गरेका छन् ।