विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ ।
बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
भेटका क्रममा सभापति लामिछानेले मुलुकको समसामयिक राजनीतिक अवस्थाका साथै सुनसरीमा हालै घटेको घटनाका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका छन् ।
सुनसरीको घटनापछि सामाजिक सद्भाव बिथोलिन नदिन र परिस्थितिलाई शान्तिपूर्ण बनाउन राजनीतिक दलहरूबिच भएको छलफलका बारेमा लामिछानेले ब्रिफिङ गरेका थिए ।
त्यस्तै,भेटमा राष्ट्रपति पौडेलले मुलुकमा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका थिए ।