विराटनगर । विराटनगरबाट अपहरण र डकैतीमा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनामाथि प्रहरीले अनुसन्धान थालेको छ ।
पाँच दिनअघिको अपहरण र डकैतीमा संलग्न गिरोहका विराटनगर महानगरपालिका–८ का अन्दाजी २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २६ वर्षीय आशिव अन्सारी आइतबार पक्राउ परेका थिए ।
आफूलाई प्रहरी बताउने समूहले असार ११ गते बिहान अपहरणपछि डकैती गरेको हो । उनीहरूले असार ११ गते बिहान ११ः१५ बजेतिर विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई अपहरण गरेर उनको साथमा भएको रकम लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
त्यो समूहले विक्रमलाई सुरुमा विराटनगर–१३ को महतो टोलबाट अपहरण गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र स्कुटरमा रहेका ३ जनाले महतो टोलबाट अपहरण गरी विराटनगर आँखा अस्पताल छेउ हुँदै विराटनगर–१४ जतुवा पुर्याएर उनीसँग भएको रकम लुटेका थिए ।
प्रहरीका अनुसार भिनाजु विराटनगर–१५ का धर्मानन्द साहले दिएको ३ लाख ६४ हजार रूपैयाँ लिएर विक्रम बैंकमा जम्मा गर्न जाँदै थिए ।
अपहरण गरेर रकम लुटपाट गरेपछि उनलाई छाडियो ।
धर्मानन्दले विक्रम आफ्नो सालो भएको बताएका छन् ।
उनका अनुसार ‘हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ’ भनेर अपहरणकारीले को १४ प ३३३० नम्बरको स्कुटरमा राखेर लगेका थिए ।
त्यसपछि एकान्तस्थलमा पुर्याएर लुटपाट गरेको धर्मानन्द बताउँछन् । हल्ला गरेमा मारिदिने धम्की दिँदै लुटेरा समूहले साथमा भएको रकम लुटपाट गरेर विक्रमलाई छाडिदिएको उनी बताउँछन् ।
प्रहरीले पनि यसलाई पुष्टि गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाविरुद्ध शरीर बन्धक बनाइ डाँका गरेर कसुरमा मुद्दा चलाउन सोमबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ ।
घटनामा ३ जना संलग्न रहेको प्रहरीको भनाइ छ । २ जना पक्राउ परे पनि १ जना फरार छन् । फरार रहेकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।