विराटनगर । ताप्लेजुङको पाथीभरा मन्दिरमा निर्माणाधीन केबलकारको विवादमा मुछिएका व्यवसायी चन्द्र ढकालले अर्को एउटा धक्का महसुस गरेका छन् । उनको कम्पनी चन्द्रागिरी हिल्स लिमिटेडले पैदलयात्रीसँग रकम असुली गरेको पाएपछि कडाखाले निर्देशन पाएको छ ।
चन्द्रागिरि हिल्स प्रालिले थाहा नगरपालिका–९, चित्लाङ भन्ज्याङ हुँदै भालेश्वर मन्दिरसम्म जाने पैदलमार्गमा चेकपोइन्ट राखेर सर्वसाधारणसँग अनधिकृत रूपमा रकम लिएको पाइएको थियो ।
मन्दिरसम्म पुग्न प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क असुली गरिरहेको पाइएपछि थाहा नगरपालिका–९ को कार्यालयले उक्त कार्य तत्काल रोक्न चन्द्रागिरि हिल्सलाई निर्देशन दिएको हो ।
वडाध्यक्ष राजकुमार बलामीले काठमाडौँमा केबुलकार सञ्चालन गर्दै आएको चन्द्रागिही हिल्सलाई पत्राचार गर्दै तत्काल उक्त कार्य रोक्न निर्देशन दिएका हुन् ।
चन्द्रागिरी हिल्सले पैदलयात्रीसँग रकम असुली गरेको जनगुनासो आएपछि वडाध्यक्षले उक्त कार्य तत्काल रोकी उक्त पैदलमार्ग हुँदै भालेश्वर मन्दिरसम्म जाने कुनै पनि पैदलयात्रीलाई आवतजावतमा रोकावट नगर्नसमेत लिखित निर्देशन दिए ।
निर्देशनमा यात्रीलाई आवतजावतमा रोकावट नगर्न र चेकपोइन्टमा राखिएका सामग्रीसमेत सात दिनभित्र हटाइदिन भनिएको छ ।
यसअघि चन्द्रागिरी हिल्सले थाहाका नगरप्रमुख, उपप्रमुख र वडा नं. ९ का वडाध्यक्षसँगको सहमतिमा सडक मर्मत र सरसफाइका लागि पैदलयात्रुसँग एक सय रुपैयाँ उठाउँदै आएको जिकिर गरेको थियो ।
तर, वडाध्यक्ष बलामीले एक सूचना जारी गर्दै वडा कार्यालयले वडा कार्यालय र चन्द्रागिरि हिल्स प्रालिबिच भएको सहमतिबमोजिम नै शुल्क लिएको भ्रामक सूचना सम्प्रेषण भइरहेको जनाएका थिए ।
उनले चन्द्रागिरि हिल्ससँग शुल्क लिनेबारे थाहा नगरपालिका–९ वडा कार्यालय तथा वडाध्यक्षबाट कुनै पनि सहमति नभएको स्पष्ट पारेका छन् ।
कुनै लगानीबिना मन्दिरमा गएको र वन क्षेत्रमा हिँडेको समेत रसिद काटेर यात्रुसँग असुली गरेको भन्दै सार्वजनिक रूपमा चन्द्रागिरि हिल्सको विरोध हुन थालेपछि वडा कार्यालयले सूचना नै जारी गरेर उक्त कार्य रोक्न निर्देशन दिने निर्णयमा पुगेको हो ।