विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ न्यु इन्टेकमा सोमबार पिकअपले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
इन्टेकस्थित भित्री सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र. १-०२-०५१प ४९९५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको प्र १-०२-०२च ५४७९ नम्बरको पिकअप गाडीले ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा स्कुटर चालक धनकुटाको सहिदभूमि गाउँपालिका-१ बस्ने अन्दाजी २६ वर्षीय सुमन राई गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारको लागि धरान घोपातर्फ पुर्याइएकोमा उपचारका क्रममा दिउँसो १:३५ बजेतिर धरानको घोपामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पिकअप तथा चालक उदयपुरको बेलका नगरपालिका-३ बस्ने २१ वर्षीय सबिन साहलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ ।