झापा । झापाको बिर्तामोडमा कुकर बम विस्फोट गराएका दुई जना तीन महिनापछि समातिएका छन् ।
पक्राउ पर्नेमा गोरखाको पालङटार नगरपालिका-७ घर भई हाल तनँहुको ब्यास नगरपालिका-१४ बस्ने ३६ वर्षीय अमृत सापकोटा (उपनाम गौरव) र खोटाङको खोटेहाङ गाँउपालिका-७ कातिके टोल बस्ने ३५ वर्षीय दिलीप भट्टराई (उपनाम समर्पण भट्टराई) रहेका छन् ।
गत भदौ २८ गते बिहान ६ः१० बजेतिर बिर्तामोड नगरपालिका-६ स्थित गिरीबन्धु टी–स्टेट नजिकै विस्फोट भएको प्रेसर कुकर बम फेला परेको थियो ।
बिर्तामोड-६ स्यालडागी स्थित गिरीबन्धु टी-स्टेट प्रालिभित्र रहेको शम्सेर एन्ड गंगादेवी टी–स्टेटको कम्पाउण्डको बार बाहिर विस्फोट भएको कुकर फेला परेको थियो ।
छत्रबाबु गिरीले सञ्चालन गर्दै आएको सो टी-स्टेटको कम्पाउन्डबाहिर नेकपा (माओवादी) पूर्वी केन्द्रीय कमाण्डको पर्चासमेत भेटिएको थियो ।
त्यसपछि अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय अनारमनीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा मंगलबार पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई बिहीबार (आज) जिल्ला अदालत झापाबाट नौ दिन म्याद थपेको छ । सो सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान कार्य जारी रहेको बताइएको छ ।