ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बिहीबार राति पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
निरन्तरको वर्षासँगै घर माथिदेखि झरेको पहिरोले पुरिएर फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिम तिङ्दुमा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।
पहिरोले पुरिएर ७० वर्षीय रामबहादुर साम्रा लिम्बू, उनकी कान्छी श्रीमती ५० वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा छोरीहरू गंगा र जमुनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरू फक्ताङ्लुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्रा (विकास) का बाबु, कान्छी आमा र बहिनीहरू हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार घरभन्दा करिब दुई सय मिटर माथिदेखि झरेको पहिरोले घर बगाउँदा लिम्बू दम्पती र छोरीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयबाट लुङगेलीकै नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ भने सिँवा प्रहरी चौकीबाट शुक्रबार बिहानै प्रहरी घटनास्थल पुगेर पहिरोबाट शव निकाल्नेलगायत उद्धारको काम गरिरहेको बताइएको छ ।
पहिरोले पुर्याएको अन्य क्षतिको विवरण आउनलाई समय लाग्ने प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिए ।
खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईका अनुसार पहिरोले बगाएर लिम्बूले पालेका दर्जनौँ पशु चौपायासमेत मरेका छन् ।
खेजेनिमकै गढी डाँडा टोलका योगेन साम्रा लिम्बूको घर पनि पहिरोले क्षतिग्रस्त बनाएको वडाध्यक्ष चौलागाईले जानकारी दिए ।
गए राति करिब १२ बजेतिर माथिदेखि आएको पहिरोले साम्राको घरलाई क्षति गरेको चौलागाईले बताए ।
उनका अनुसार घर माथिदेखि पहिरो आएपछि साम्रासहित उहाँका परिवारका अन्य सदस्यले भागेर ज्यान बचाउन सफल भएका छन् ।
भाग्ने क्रममा साम्रा र उनका एक छोरी घाइते भएका छन् । घाइते बाबु छोरीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको पनि उनले जानकारी दिए ।
उनकाअनुसार घटनास्थलमा बिहानदेखि जनप्रतिनिधि, प्रहरी र स्थानीयले उद्धारको काम गरिरहेको छ ।