विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-१४ स्थित धाप्लाङमा आइतबार होली मनाएर पौडी खेल्न गएका तीन बालबालिकामध्ये एक जनाको शव भेटिएको छ ।
सुनकोशी नदीमा बेपत्ता भएका तीनमध्ये मंगलबार एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले धाप्लाङ घाटभन्दा करिब एक किलोमिटर तल नौ वर्षीय रिदम मगरको शव फेला पारेको हो ।
सोमबार दिनभर पानीमुनि खोजेपनि बालबालिकाको अवस्था पत्ता लगाउन सकिएको थिएन ।
आइतबार होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा पौडी खेल्दा त्रियुगा नगरपालिका १४ साउनेका १२ वर्षीय रेखा मगर, नौ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर बेपत्ता भएका थिए ।
बालबालिकाको खोजतलास गर्न सशस्त्र प्रहरी बल नम्बर १ वराह वाहिनी मुख्यालय पकली सुनसरीबाट प्रहरी निरीक्षक उमेश काफ्लेको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको ६ जनाको टोली खटिएका थिए ।