बेलबारी । मोरङको बेलबारी नगरपालिकामा कर्मचारीको जम्बो टोली घुमफिरमा निस्किएपछि सेवाग्राहीले सास्ती भोग्न परेको छ ।
प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालसहितको जम्बो टोली तालिम भन्दै घुम्न हिँडेपछि नगरपालिका आउने सेवाग्राहीले सास्ती भोग्न परेको हो ।
प्रमुख प्रशासकीय अधिकृत ढकाल, लेखा अधिकृत धनमाया राई, सूचना पूर्वाधार विकास शाखाका दिलीप राजवंशी, वडा नम्बर ११ का इन्जिनियर योगेश गौतम, नगर अस्पतालका कर्मचारी दिनेश गौतमलगायतको टोली घुम्न निस्किएको हो ।
उनीहरू फागुन २ गते घुमफिर गर्न संखुवासभातर्फ गएको स्रोतले जनाएको छ ।
घुम्न हिँडेकामध्ये कसैले तालिम छ भनेर बिदा लिएका छन् भने कसैले त भ्रमण तथा अनुगमन भत्ताका लागि आवेदनसमेत दिएका छन् ।
यस्तै, ढकाल प्रदेशको मन्त्रालयमा तालिम भन्दै घुम्न निस्किएका हुन् भने सडक तथा पूर्वाधार विकास उपशाखाका इन्जिनियर बालकृष्ण निरौला र राम शंकर शाह सार्वजनिक खरिद अनुगमन कार्यालयको तालिममा इटहरी गएको भन्दै हिँडेका हुन् ।
यस्तै, लेखा शाखा अधिकृत राईलगायत अन्य कर्मचारीसमेत विभिन्न काममा गएको भनी संखुवसभा पुगेका हुन् ।
उनीहरू काम छोडेर घुम्न निस्किएपछि पालिकाको नियमित काममा समेत असर पुगेको छ ।
बेलबारी नगरपालिका-५ कसेनीका सुजित गिरि तीन दिनयता पालिका धाइरहन बाध्य रहेको सुनाउँछन् ।
‘वडाबाट काम सकेर पालिका धाउन थालेको तीन दिन भइसक्यो,’ उनी भन्छन्,’ उहाँहरू आउने निर्क्यौल नहुँदा काम नै बनेको छैन ।’
ऐनअनुसार हरेक उत्तरदायी अधिकारीले आफ्नो अनुपस्थितिमा तोकिएको जिम्मेवारी अर्को व्यक्तिलाई सुम्पिनु पर्छ ।
तर, बिदा नलिई घुम्न गएका नगरका प्रमुख प्रशासकीय अधिकृतले भने आफ्नो जिम्मेवारी कसैलाई दिएका छैनन् ।
यो विषयमा नगरप्रमुख दिलप्रसाद राईले घुमफिर सकेर आएपछि स्पष्टीकरण सोध्ने बताएका छन् ।