विराटनगर । मोरङको रंगेलीबाट विराटनगर आउँदै गरेका भारतीय नागरिक साढे दुई किलो चाँदीसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको अररिया जिल्ला आमगाछी पञ्चायत वडा नम्बर १३ का २२ वर्षीय मोहमद अलताफ रहेका छन् ।
उनलाई रंगेली नगरपालिका-७ कालिमन्दिर चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनी दुई किलो ५४८ ग्राम चाँदी बोकेर आमबारी-विराटनगर चल्ने को.१ ख ३२११ नम्बरको यात्रुबाहक बसमा बसेका थिए ।
रंगेली-५ धनपट्टी बोर्डरबाट विराटनगरतर्फ आएका अलताफले अवैध रूपमा चाँदी लुकाई–छिपाई लगेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
चेकजाँच गर्ने क्रममा उनको साथबाट प्रहरीले कालो झोलाबाट चाँदीको पाउजु ६९ जोडी, चाँदीको लोटा २५ थान, चाँदीको कलस ६ थान बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।
बरामद गरेको सामानसहित उनलाई इलाका प्रहरी कार्यालय, रंगेलीमा ल्याई थप अनुसान्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।