काठमाडौं । अमेरिका पुग्ने लोभमा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एकसाथ नक्कली प्रमाणपत्र बनाउने १० जनालाई पक्राउ गरेको हो ।
इलेक्ट्रिक डाइभरसिटी भिसा (ई-डिभी) लोटरी २०२३ को नतिजामा लोटरी परेर कागज नपुगेपछि नक्कली प्रमाणपत्र बनाउने समूह समातिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जनाए ।
डिभी परेपछि प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका व्यक्तिले भिसा प्रयोजनका लागि एसएलसी तथा प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर पेस गरेको खुलेको थियो ।
प्रहरीको टोलीले विशेष सूचनाको आधारमा सुरुमा महाराजगन्जस्थित अमेरिकन दूतावासबाट विवेक उपाध्यायसहित तीन जनालाई नियन्त्रणमा लिएर जाँचबुझ गर्दा अन्य सात जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा धनुषाको सबैला नगरपालिका-१२ का उपाध्यायका साथै मकवानपुरको मनहरि गाउँपालिका-९ की भगवती उप्रेती, लमजुङको बेशीसहर-५ की रोना गुरुङ, ललितपुरको ललितपुर-१४ का सञ्जय महर्जन रहेका छन् ।
यस्तै, चितवनको भरतपुर-१२ का सुमन ढकाल, सिरहाको सिरहा-११ का सक्षम अर्याल, सर्लाहीको लालबन्दी-४ का सुरज अधिकारी, दोलखाको चरिकोट-९ का अशोक श्रेष्ठ, पर्साको वीरगन्ज-१० का पुरुषोत्तम मल्लिक र सर्लाहीको हरिवन-९ का स्वर्णिम दाहाल रहेका छन् ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले एसपी रेग्मीले जानकारी दिए ।