विराटनगर । वैदेशिक रोजगारीमा जानका लागि भौतारिरहेका बेला मोरङको लेटाङ नगरपालिका–३ का ३३ वर्षीय विकास राईले रुसमा रहेका गाउँले साथीसँग सम्पर्क गरे ।
गाउँकै साथीले रुसमा राम्रो कमाइ हुने भनेर लोभ्याएपछि विकासको मन देशमा अडिएन ।
घरमा नाबालक छोरा छोडेर उनले रुस जाने निधो गरे ।
थोरै आर्मीको तालिमपछि राम्रो कमाइ गर्न सकिने आश्वासन पाएका विकासले रुस जान ऋणपान गरेर आठ लाख रुपैयाँ खर्चिएका थिए ।
गत कात्तिक ४ गते दुबई हुँदै रुसका लागि हिँडेको थिए, उनी ।
रुस पुगेपछि उनले नेपालमा रहेको आफ्नो परिवारसँग फोन सम्पर्क पनि गरे ।
रुस र युक्रेनबीचको युद्ध चलिरहेको समयमा रुसी सेनामा भर्ती भएका विकासको अवस्था गत मंसिर २५ गतेयता अज्ञात छ ।
विकास युक्रेनी सेनाको कब्जामा रहेको भन्ने खबर साथीले रुसबाट उनको घर परिवारमा सुनाएका थिए ।
‘भिडन्तमा परेपछि युक्रेनी सेनाको कब्जामा छ भन्ने सुनेकी छु,’ विकासकी आमा पञ्चकुमारी राई भन्छिन्, ‘पाँच दिन हराएपछि एकचोटी त फोन आएको थियो । अहिले ऊ लापत्ता छ ।’
पञ्चकुमारीका अनुसार पुसको पहिलो साता विकास एकपटक सम्पर्कमा आएका थिए ।
त्यसबेला विकासले आफ्नी श्रीमतीको मोबाइलमा फोन गरेर करिब १० मिनेटजति कुराकानी गर्दै आफू युक्रेनी सेनाको कब्जामा रहेको सुनाएका थिए ।
त्यसपछि भने विकासको अवस्था अज्ञात छ ।
‘एउटा त्यहीँ छोरा थियो कमाउने र हातमुख जोड्न सघाउने, उसको भाइ त सानै छ,’ पञ्चकुमारी आँखाभरि आँसु पार्दै भन्छिन्, ‘मेरो त बुढेशकालको सहारा गुम्यो, उसको नाबालक छोरा र बुहारीको बिचल्ली हुनेभयो ।’
पञ्चकुमारीले आफ्नो छोरालाई सकुशल स्वदेश फर्काइदिन सरकारसँग आग्रह गरेकी छन् ।
उनी भन्छिन्, ‘नेपाल सरकारले मेरो छोरालाई फर्काएर ल्याइदियोस् । अरू नेपाली पनि त्यहाँ छन् भने स्वदेश फर्काइदियोस् ।’
सोही वडाका ३९ वर्षीय टीका गुरुङको आफ्नै मोटरसाइकल ग्यारेज थियो ।
करिब ६ वर्षसम्म उनको दैनिकी त्यहीँ ग्यारेजमा एकनासले बित्ने गरेको थियो ।
तर, पछिल्लो समयमा ग्यारेजबाट राम्रो आम्दानी हुन छाडेको भन्दै उनी पनि रुस हानिएका थिए ।
रुसमा रहेका एक साथीको खातामा साढे सात लाख रुपैयाँ हालेर उनी कात्तिक ४ गते दुबई हुँदै रुसका लागि हिँडे ।
विकासजस्तै टीका पनि अहिलेसम्म परिवारको सम्पर्कमा छैनन ।
लेटाङको एकै ठाँउका विकास र टीकाजस्तै लेटाङ नगरपालिकाका २० भन्दा बढी युवा विभिन्न माध्यमबाट रुस पुगेको बताइएको छ ।
रुस–युक्रेन युद्धको समयमा रुसी सेनामा भर्ना भएका विकास र टीका चार सातादेखि घरपरिवारको सम्पर्कमा छैनन् ।
रुस–युक्रेन लडाइँको मैदानमा होमिएका आफ्ना परिवारका सदस्य लामो समयदेखि परिवारको सम्पर्कमा नआएपछि उनीहरूका परिवार बिलखबन्दमा परेको छ ।
रुसका लागि लडाइँ लड्नेहरू घाइते हुँदा, बेपत्ता हुँदा अनि मृत्युवरण गर्न बाध्य हुँदा पनि उनीहरूको विषयमा स्थानीय सरकारदेखि केन्द्र सरकार भने बेखबर जस्तै छ ।
यता, लेटाङ नगरपालिका भने रुस जानेहरूको तथ्यांक संकलन गर्ने तयारीमा रहेको नगरप्रमुख भूपेन्द्रकुमार लावती बताउँछन् ।
‘हामीले थाहा पाएअनुसार एक दर्जनभन्दा बढी रुस जानुभएको छ,’ उनले भने, ‘नगरबासीलाई को–को रुस जानुभएको छ भन्नेबारे जानकारी दिनुहोला भनेर भनेका छौं । बेपत्ता भएको निवेदन यहाँ परेपछि परराष्ट्रमा पत्रचार गरेका छौं ।’
रुस–युक्रेन युद्धमा जसमा कोसी प्रदेशको इलामका गंगाराज मोक्तानको पनि केही समय अघि रुस–युक्रेन युद्धमा मृत्यु भएको थियो ।
हालसम्म रुस–युक्रेन युद्धमा परी १२ जनाको मृत्यु भइसकेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।